माेटरसाइकल चाेरी गर्ने ८ जना पक्राउ पछि सार्वजनिक

फाेटाे प्रहरी कार्यालय झापाले उपलव्ध गराएकाे हाे ।

१९ जेष्ठ २०७९, सारासन्देश समाचार– इलाका प्रहरी कार्यालय अनारमनीले मोटरसाइकल चोरीमा संलग्न ८ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेकाे छ ।

पक्राउ पर्नेमा दुई नाबालक पनि रहेका छन् । उनीहरूबाट चोरीका १२ वटा मोटरसाइकल पनि फेला परेकाे छ । पक्राउ पर्नेमा बिर्तामोड– ५ का १८ वर्षीय करण मण्डल, बिर्तामोड– ३ का १९ वर्षीय कुमार राजवंशी, अर्जुनधारा–८ का १८ वर्षीय समिर मियाँ, सप्तरी टिकुली–५ का २७ वर्षीय करण महम्मद, गौरीगन्ज–५ का १८ वर्षीय ओमप्रकाश यादव, इलाम चुलाचुलीका १८ वर्षीय राहुल श्रेष्ठ र दुई नाबालक रहेको प्रहरीले जनाएको छ । करण महम्मदले चोरीका मोटरसाइकल बिक्री गर्न अर्जुनधारा–८ मा ग्यारेज नै सञ्चालन गरेको पाइएको प्रहरीले जनाएको छ ।

ग्यारेजमा नम्बर प्लेट परिवर्तन र मोटरसाइकल मोडिफाई गरिने गरेको खुलेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक रुगमबहादुर कुँवरले बताउनु भयाे । ‘ग्यारेज सञ्चालन गरेर चोरीको मोटरसाइकल विक्रीको काम हुँदो रहेछ । बाहिरबाट सटर लगाएर बन्द भएजस्तो गर्ने भित्र चोरीका मोटरसाइकल मोडिफाई र नम्बर प्लेट बनाइने काम हुँदो रहेछ,’ डिएसपी कुँवरले भन्नु भयाे, ‘यी सबै एउटै गिरोहका हुन् । करणले नै मोटरसाइकल चोरी गर्न सिकाउँदा रहेछन् । मोटरसाइकल भएको ठाउँबाट ३० सेकेन्डमा चोर्न सफल हुने रहेछन् । एक घण्टामा त मोटरसाइकलको स्वरूप परिवर्तन नै हुँदो रहेछ ।’

चोरीमा संलग्नले रातको १२ बजेदेखि २ बजेबीचमा मोटरसाइकल चोरी गर्ने गरेको डिएसपी कुँवरले बताउनु भयाे । चोरीमा संलग्न विगतमा पनि पक्राउ परेका रहेको उनले बताउनु भयाे । ‘उनीहरू विगतमा पनि पक्राउ परेका छन् । पहिला दुले चोर रहेछन्,’ उहाँ भन्नु हुन्छ ‘अहिले स्तरवृद्धि भएर बाइक चोर भएका रहेछन् ।’

केही दिनअघि इलाका प्रहरी कार्यालय दमकले पनि मोटरसाइकल चोरीमा संलग्न दुईजना र उनीहरूबाट चारवटा चोरीका मोटरसाइकल फेला पारेको थियो । ती मोटरसाइकल पाँचथरबाट फेला पारिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी बसन्त पाठकले जानकारी दिनु भयाे ।

‘मोटरसाइकल तराईमा चोरेर पहाड पुर्याउने गरेको पाइयो । सहरमा चोरी भएका मोटरसाइकल गाउँमा बिक्री गर्ने गरेको खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापामा कुल ७ अर्व ३१ करोड ८६ लाख बजेट विनियाेजनः कुन पालिकामा कति?
Next post घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमा १० रुपैयाँ