दमकका धिमाल महिलालाई उनीहरूकाे पहिरन पेटानी बुन्न तान वितरण
२० असार २०७९, झापा– झापाको दमक नगर पालिकाले आज सोमबार ९ थान पेटानी बुन्ने तान हस्तान्तरण गरेको छ । वडा नं. १० कार्यालयले धिमाल जातीकाे पहिरन बुन्ने तान एक कार्यक्रमकाबीच आफ्नो वडामा बसोबास गर्दै आएका धिमाल समुदायका ९ जना महीलाहरुलाई सो तान हस्तान्तरण गरेको हो । कार्यक्रममा वडाको अघिल्लो आर्थिक बर्ष ७८/७९ को एक लाख ५० हजार बजेटबाट जनही करिब १७ हजार मूल्य बराबरका ९ थान पेटानी बुन्ने तान बितरण गरिएको वडा अध्यक्ष राजेन्द्र प्रसाद भण्डारीले बताउनु भयाे । सो अवसरमा वडा अध्यक्ष भण्डारीले तानको भरपुर उपयोग गर्दै आय आर्जन गर्न धिमाल समूदायका महिलाहरूलाइ आग्रह गर्नुभयो ।
१० नम्बर वडाको सेतुमारी, नलबारी र नौ भाइ चोक आसपास धिमाल बस्तीका महिलाहरुलाई तान बितरण गरेको हो । लाभग्राही पुस माया धिमालले अझैपनी आफ्नो समुदाय भित्र तानको अभाब रहेको गुनासो गर्नुभयो । उहाँले आफ्नो गाउँ छिमेकमा तीन वटामात्र पेटानी बुन्ने तान रहेकोले आलोपालोमा पेटानी बुन्नुपर्ने बाध्यता रहेको गुनासो गर्नु भयाे । आगामी दिनमा पनि वडाले महिलाको क्षेत्रमा सिपमुलक कार्यक्रमहरु संचालन गरी उनीहरुको आय आर्जनमा टेवा पुर्याउने खालका कार्यक्रमहरुलाई निरन्तरता दिइने वडा सचिव योगेश भट्टराईले जानकारी दिनुभयाे ।
झापाकाे दमकमा धिमाल जातिकाे संख्या झण्डै ६ हजार हाराहारीमा रहेका छन् । धिमाल जातिले पछिल्लाे समय आफ्नाे भेषभूषा, सँस्कृति संरक्षणमा चासाे दिँदै आएका छन् । नगरमा यस अघि तान बुन्ने तालिमहरू समेत संचालन हुँदै आएकाे धिमाल जातीकी अगुवा महिला शान्ति धिमालले बताउनु भयाे ।