स्थानीय सरकारका कार्यशैली सुधारका लागि गौरादहमा समिक्षा गोष्ठी (फाेटाे फिचर)
१८ भदौ २०७९/सारासन्देश समाचार
स्थानीय सरकारले गरेका गतिविधिको जानकारी तथा सुधारका लागि सुझाव लिन गौरादह नगरपालिकाले २ दिने समिक्षा गोष्ठी सम्पन्न गरेको छ । शुक्रबार र शनिवार बार्षिक अनुगमन तथा प्रगति समिक्षा गोष्ठीमा गत आर्थिक बर्षमा भए गरेका कामको प्रगतिबारे विवरण पेश तथा सो माथि टिकाटिप्पणी गर्ने कार्य गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराईले बताउनु भयो । भट्टराईका अनुसार समिक्षा गर्नाले विगतमा भएका कार्याक्रमबारे सर्वदलीय र सर्वपक्षीय सवैलाई जानकारी गराई नगरको विकासमा थप टेवा पुग्ने र पारदर्शी ढंगबाट काम हुने बताउनु भयो ।
समिक्षा गोष्ठीमा पहिलो दिन आज वडाको प्रगति र सुधारबारे वडा सचीवले विवरण पेश गरेका छन् । यस्तै कार्याक्रमको उद्घाटनमा नगरका विभिन्न राजनैतिक दल र सामाजिक अगुवाले यसरी गोष्ठी संचालनले स्थानीय सरकारले गरेको गतिविधि सवैले जान्ने र सुधार गर्न पाउने अवसर मिल्ने भन्दै यस्ता कार्याक्रमलाई जोड दिन सुझाव दिएका छन् ।
गौरादह नगरपालिका वडा नं. ५ को कृषि पर्यटन क्षेत्र पाहुना घरमा भएको कार्यक्रमका अध्यक्ष नगरपालिका प्रमुख छत्रपति सुवेदीले कर्मचारीहरुले विनियोजित बजेट र शीर्षक अनुसारको काम प्रति जवाफदेही ढंगबाट काम गर्न निर्देशन दिनु भएको छ ।
कार्यक्रमको आज भएको समापनमा नगरपालिकामा विकास भन्दा पनि सेवामुखी कार्यलाई जोड दिन राजनैतिक तथा सामाजिक अगुवाहरुले सुझाव दिएका छन् । बार्षिक अनुगमन र प्रगति समिक्षा गोष्ठीमा नगरका राजनैतिक तथा सामाजिक अगुवाहरुले नगरवासीको सुविधा दिने काममा छिटो छरितो गर्न सुझाव दिएका छन् । भौतिक विकासमा अनुगमन गर्ने संयन्त्र भए पनि शैक्षिक, सामाजिक र सेवामुखी क्षेत्रमा अनुगमनको अभाव हुँदा ढिलो सुस्ती हुने गरेको राजनैतिक दलका अगुवाले बताएका छन् ।
सामाजिक भत्ता वितरण, शैक्षिक गुणस्तर र स्वास्थ्य क्षेत्रको विकास र सुधारमा कर्मचारीले ध्यान दिनु पर्ने बताइएको छ । नगरले गत आर्थिक बर्षमा ९० प्रतिशत हाराहारीमा भौतिक तथा वित्तीय प्रगति गरेको प्रतिवेदन पेश गरिएको कार्यक्रम संचालक प्रशासन शाखाका अधिकृत प्रज्वल अधिकारीले जानकारी दिनु भएको छ ।
यस्तै केही बर्ष अघि १२ प्रतिशत सम्म आएको वेरुजु रकम गत वर्ष ३ प्रतिशत हाराहारीमा झरेकाले यसलाई शून्य बनाउने तर्फ ध्यान दिन नगर प्रमुख सुवेदीले निर्देशन दिनु भएको छ । सर्वदलीय भेलाबीच गरिएको समिक्षा गोष्ठीले स्थानीय सरकारको पारदर्शितासँगै सुधारका लागि सहयोग टेवा पुग्ने भएकाले निरन्तर तालिका बनाएर गर्नु पर्ने कार्याक्रमका बक्ताहरुले बताएका छन् ।