आजदेखि सातवटै प्रदेशमा खाेप पठाउन थालियाेः माघ १४ गतेबाटै खाेप लगाउन थालिने प्रम ओलीकाे भनाइ

१० माघ २०७७, काठमाडौं- कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आजदेखि सातवटै प्रदेशमा पठाउन थालिएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप लगाउन सातवटै प्रदेशमा पठाउन थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

भारतबाट ल्याएपछि खोप स्वास्थ्य सेवा विभागको टेकुस्थित केन्द्रीय चिस्यान केन्द्रमा राखिएको छ । उहाँका अनुसार प्रदेशबाट नै जिल्ला अस्पतालमा खोप आवश्यकताका आधारका वितरण गरिनेछ । आइतबारसम्म सबै प्रदेशमा खोप पुग्ने मन्त्रालयले जनाएको छ ।

पहिलो चरणको उक्त खोप अस्पताललाई नै खोप केन्द्र बनाएर लगाइनेछ । उहाँले सात प्रदेश र ७७ जिल्लामा गरी करीब ३०० विभिन्न अस्पतालबाट खोप लगाइने बताउनुभयो । काठमाडौँ उपत्यकामा भने १० भन्दा बढी अस्पतालमा खोप वितरण गरिनेछ ।

उक्त खोप स्वास्स्थ्य संस्थामा कार्यरत कोभिड–१९ व्यवस्थापनमा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शववाहन चालक, कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएका शवको व्यवस्थापनमा खटिने सुरक्षाकर्र्मी, स्थानीय तहमा कार्यरत फोहोर व्यवस्थापन तथा सरसफाइकर्मीलाई दिइनेछ ।

दुई मात्रामा दिइने खोप पहिलोपटक लगाएको एक महिना वा चार हप्तापछि दोस्रो मात्रा दिइने मन्त्रालयका प्रवक्ता डा गौतमले बताउनुभयो । खोप लगाउन शुरु गरेको एक हप्ताभित्र सबै खोप लगाइसक्ने मन्त्रालयको तयारी छ ।

माघ १४ बाटै खाेप लगाउन थालिने

यसैगरी खाेपकाे विषयमा सशस्त्र प्रहरी बलको २० औं स्थापना दिवसका अवसरमा शुक्रबार काठमडाैंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यही माघ १४ गतेबाट कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु गरिने बताउनु भएकाे छ । यसका लागि समूह पनि तयार पारिसकेको उहाँले बताउनु भयाे ।

मुलुकमा कोरोनालाई पराजित गर्ने अभियानको सुरुआत भइसकेको र नियन्त्रणको ‘टर्निङ प्वाइन्ट’मा पुगेको प्रधानमन्त्री ओलीको भनाइ छ । उहाँले पहिलो चरणमा अग्रभागमा रहेर कोभिड–१९ विरुद्ध खटिएका व्यक्तिलाई खोप लगाइने जानकारी बताउनु भयाे । पर्याप्त खोप नआइसकेकाले अझै केही महिना सावधानी अपनाउन प्रधानमन्त्री ओलीले सबैमा आग्रह समेत गर्नुभएकाे छ । उहाँले शान्ति, सुरक्षा, अमन चयनलगायत विपद् व्यवस्थापन र संकटका बेला सशस्त्र प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै समयानुसार परिमार्जित हुँदै अघि बढ्न सशस्त्र प्रहरीलाई आग्रह गर्नु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post कर्मचारीको राजीनामा र अवकाशपत्रको स्वीकृती अब स्थानीय तहबाटै
Next post नेपालमा आज ४०३ निकाे, २७० संक्रमित