मत खसाल्न झापा जिल्लाभरी अभ्यास गराइँदै (फाेटाे फिचर)
२९ कार्तिक २०७९/झापा
आसन्न ४ गते मंसीरलाई लक्षित गरी मत हाल्न सिकाउन आज झापाको दमकमा नमूना मतदानको अभ्यास गरिएको छ । जिल्ला निर्वाचन कार्यलयको आयोजनामा भएको नमूना मतदान कार्याक्रममा ४३ जनाको सहभागिता रहेको छ । मतदान गर्दा पहिलो मत प्रत्यक्ष तर्फ प्रतिनिधिसभा सदस्यका लागि सेतो कागजमा रातो मसी प्रयोग भएको र दोस्रो प्रतिनिधिसभा समानुपातिकका लागि सेतो कागजमा कालो मसी प्रयोग भएको मत पत्रमा छाप हान्न सिकाइएको छ । यस्तै प्रदेशसभा सदस्यका लागि प्रत्यक्षमा त्यसैगरी सेतो कागजमा रातो मसी प्रयोग भएको र समानुपातिक तर्फ सेतो कागजमा कालो मसी प्रयोग भएको मत पत्रमा छाप हान्ने अभ्यास गराइएको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले बताउनु भयो ।
प्रमुख नेपालका अनुसार आजसम्म जिल्लाका १३ स्थानीय तहमा नमूना मतदानको अभ्यास भइसकेको छ । भोलिसम्म जिल्लाको १५ वटै पालिकामा नमूना मतदानको शिक्षा प्रदान गरिने बताइएको छ । झापा जिल्लामा ५ निर्वाचन क्षेत्र रहेका छन् । जसमा ५ जना प्रतिनिधिसभा सदस्यका लागि ९४ जनाको उम्मेद्वारी परेको छ । यस्तै १० प्रदेशसभा सदस्य पदका लागि ९८ जनाको उम्मेद्वारी परेको जिल्ला निर्वाचन कार्यालय झापाले जानकारी दिएको छ ।