बहुप्रतिक्षित हुलाकी सडककाे झापाकाे कन्काइ पुल बन्ने आशा (फाेटाे फिचर)
२५ पौष २०७९/डिकेश लामा
एक दशक समय वितिसक्दा समेत आधा पनि काम हुन नसकेको झापाको बहुप्रतिक्षित कन्काई नदिको पुल निर्माण थालिएको छ । २०६८ सालमा ३४ करोडमा ठेक्का लागेको पुल ५ औं पटक म्याद थप गरेर यस बर्ष ठेकेदार कम्पनी महादेव खिम्तीले निर्माण थालेको हो । कन्काई नदिमा ४ बर्षमा सक्ने भनेर थालिएको पुल १० बर्ष वितिसक्दासम्म आधा पनि निर्माण भएको छैन । काम नै नसकी पुल निर्माणका सामानहरु नष्ट भएर अलपत्र रहेको पुल हालै आएर बन्न थाले पछि अव भने पुल बन्लाकि भन्ने आशा पलाएको स्थानीय इश्वर माझीले बताउनु भयो । माझीका अनुसार गत बर्ष देखि पुल निर्माणको कामले गति लिएको छ । हिउँदमा मात्र काम हुने र बर्षामा निर्माण काम रोकिने पुलमा यस बर्ष कामदारको संख्या बढाएकाले अव भने पुल बन्ने आशा पलाएको उहाँले बताउनु भयो ।
७ सय २४ मिटर लम्बाईको पुल २०७२ जेठ मसान्तमा निर्माण सक्नु पर्ने हो । तर लामो समय अलपत्र परेको पुल निर्माणको कामले यस बर्ष देखि केही तिव्रता पाएको छ । चाँडै पुल सक्नु पर्ने दबाव आएकाले आगामी बर्षसम्म सक्ने गरी काम थालेको निर्माण कम्पनिका साइड इन्चार्ज तेजप्रसाद न्यौपानेले बताउनु भयो । न्यौपानेका अनुसार यो बर्ष नभई अर्को सालसम्म पुल निर्माण हुने बताउनु भयो ।
पुल नबनेकाले निर्माण सम्पन्न भएको हुलाकी सडक समेत सहज ढंगबाट संचालन हुन सकेको छैन । सडक बने पनि पुल नबनेकाले बर्षौं देखि ज्यान जोखिममा बर्षामा डुङ्गा र हिउँदमा बाँसको पुलमा पैसा खर्चेर हिड्नु पर्ने बाध्यता हट्न नसकेको स्थानीय बासिन्दाले दुखेसो पोखेका छन् । एक दशक अघि देखि निर्माण थालिएको बहुप्रतिक्षित हुलाकी सडकका लागि बनाइएको कन्काई नदिको पुल यस बर्ष भने धमाधम निर्माण थालिएको छ । लामो समय अलपत्र बनेको पुल यो बर्ष वेलै देखि निर्माण थालिएकाले अव भने पुल बन्ला कि भन्ने आशा पलाएको स्थानीयले बताएका छन् ।