गृह मन्त्री लामिछानेको सांसद पद नै बदर हुने सर्वोच्चको फैसला
१३ माघ २०७९,काठमाडौँ- सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद बदर हुने फैसला सुनाएको छ । सर्वोच्चले नागरिकतासम्बन्धी विवादमा फैसला सुनाउँदै लामिछाने प्रतिनिधि सभा सदस्य हुन अयोग्य रहेको ठहर गरेको हो ।
शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षसमेत रहनुभएका उपप्रधान तथा गृहमन्त्री लामिछानेले अमेरिकी नागरिकता लिएपछि निष्क्रिय भइसकेको नागरिकता पुन:प्राप्तिका लागि प्रक्रिया पूरा नगरेकाले उहाँ सांसद हुन अयोग्य रहेको फैसला गरेको हो । कामू प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरु विश्वम्भप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजसालले उक्त निर्णय सुनाएको हो । लामिछाने गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा चितवन प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित हुनु भएको थियो । उहाँकाे सांसद पद नै बदर भए पछि वागमति प्रदेशकाे चितवनकाे निर्वाचन क्षेत्र नं. २ मा पुनः निर्वाचन वा नागरिकता सम्बन्धी विधेयक नै संशाेधन हुनु पर्न सक्ने अवस्था सृजना भएकाे कानुनविदहरूकाे भनाइ छ ।