१५ चैत्र २०७९,काठमाडौँ – गैर भूटानीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै माेटाे रकम असुल्दै आएका गिराेहहरू धमाधम पक्राउ गर्न थालिएकाे छ । ५ वर्षयता संचालित गिरोहमा संलग्न पूर्वी नेपालका शरणार्थी शिविर नजिक पथरी घर भएका सागर राई बुधबार अपराह्न बालकुमारीबाट पक्राउ परेका छन् ।
पथरी–शनिश्चरे नगरपालिका वार्ड १० का निर्वतमान वाडाध्यक्ष समेत रहेका राई नेपाली कांग्रेसका निर्वाचित क्षेत्रीय प्रतिनिधिसमेत हुन् । ‘शरणार्थी बनाउने र अमेरिका उडाउने’ भनेर गिरोह चलाउँदै आएका केशव दुलाल, सानु भण्डारी र टेक गुरुङलाई आइतबार अपराह्न काठमाडौंमा पक्राउ गरिएको थियो । त्यसपछि आएको थप जाहेरीका आधारमा राईलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय स्रोतले जानकारी दिएकाे छ ।
