२४ असार २०८०, काठमाडौँ– ललिता निवासको जग्गा किर्ते कागज बनाई किनवेच गरेको प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन । प्रहरीले ललिता निवास प्रकरणमा संलग्न भएको अभियोगमा उनलाई आज पक्राउ गरेको हो । राउतलाई काठमाडौंबाट विराटनगर जाने क्रममा केहीबेर अघि त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोकी एआइजी किरण बज्राचार्यले सञ्चार सचिव राउतलाई पक्राउ गरिएको पुष्टि गर्नुभएको छ । २०६६/०६७ ताका प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखको निवास विस्तार गर्ने नाममा भूमाफियाको योजनाअनुसार अगाडि बढेको सट्टाभर्नासम्बन्धी निर्णयमा राउत शाखा अधिकृत हुँदा टिप्पणी उठाएकाे थियाे । त्यही टिप्पणी सहसचिव, सचिव, मन्त्री हुँदै तहगत रुपमा सदर गरेर मन्त्रिपरिषद्मा पुर्याइएको थियो । त्यस बेला माधवकुमार प्रधानमन्त्री थिए । उपप्रधान तथा भौतिक तथा योजनामन्त्री विजय गच्छदार, सचिव दीप बस्न्यात तथा भूमि सुधार सचिव छविराज पन्त रहनु भएकाे थियाे ।
सट्टाभर्नामा नेपाल सरकारको नाममा रहेको करिब २५ रोपनी जग्गा हिनामिना भएको थियो । सोही प्रकरणमा मन्त्रालयबाट टिप्पणी उठाएका त्यस बेलाका शाखा अधिकृत राउत पक्राउ परेका हुन् । यो प्रकरणमा ५ पूर्वसचिवसहित ४ सयभन्दा बढी विरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ ।
