![](https://sarasandesh.com/wp-content/uploads/2023/08/MK-kendriya-baithak.jpg)
जनतासँग माओवादी रूपान्तरण कार्याक्रम ३ महिने अभियान संचालन गरिनेः प्रम प्रचण्ड
![](https://sarasandesh.com/wp-content/uploads/2023/08/MK-kendriya-baithak-3.jpg)
![](https://sarasandesh.com/wp-content/uploads/2023/08/Maobadi-kendriya-baithak.jpg)
अध्यक्ष प्रचण्डले भ्रष्टाचार विरोधी अभियान योजनाबद्ध तरिकाले सञ्चालन गरिएको उल्लेख गर्नुभयो । उहाँले अभियानलाई साथ दिन निर्देशनसमेत दिनुभएको छ । सुशासन एवम् समृद्धिको यात्रामा देश अगाडि बढ्ने स्पष्ट पार्दै अध्यक्ष दाहालले भ्रष्टाचारमा दोषी देखिएका कसैलाई पनि नछाड्ने बताउनुभयो । उहाँले भन्नुभयो, “माओवादीले गरेन भने त्यसको नेतृत्व अरू कसैले गर्न सक्दैन भनेर योजनाबद्ध तरिकाले अघि बढेका हौँ । हामी यसलाई त्यतिकै छाड्दैनौँ, यो अभियानमा सबै कमरेडहरूले साथ दिनुहोला ।”
प्रधानमन्त्री प्रचण्डले विचार र राजनीतिमा पार्टी एकमत भएको र भावनात्मक रुपमा एकै ठाउँमा आएको उल्लेख गर्नुभयो । उहाँले जनतासँग एकाकार भएको खण्डमा माओवादीले पुनः देशको पूर्ण नेतृत्व गर्ने बताउनुभयो । उहाँले विगतमा पार्टीमा केही अन्यौलमा परेजस्तो भए पनि केन्द्रीय समितिको बैठकपछि ती सबै हटेको स्पष्ट पार्नुभयो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी प्रवक्ता कृष्णबहादुर महराले केन्द्रीय समितिको बैठक असाधारण रुपमा सम्पन्न भएको र विभिन्न २५ बुँदे समसामयिक प्रस्ताव पारित गरेको जानकारी दिनुभयो । समाजवादी क्रान्तिको अभियान सुरु भएको उल्लेख गर्दै उहाँले ‘जनतासँग माओवादी विशेष रुपान्तरणका लागि अभियान’ सञ्चालन गर्न लागिएको बताउनुभयो ।
![](https://sarasandesh.com/wp-content/uploads/2023/08/MK-kendriya-baithak-2.jpg)
उहाँका अनुसार अभियानको आगामी भदौ १६ गते उद्घाटन हुन्छ । अभियानमा जनताको घरघरमा जाने र जनताको गुनासो सुन्ने र पार्टीमा केन्द्रित गरिने प्रवक्ता महराले जानकारी दिनुभयो । यही साउन १७ गतेदेखि सुरु भएको बैठकमा अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिक प्रस्ताव पेस गर्नुभएको थियो । सो प्रस्तावमाथि नेताहरुले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
![](https://sarasandesh.com/wp-content/uploads/2023/08/MK-kendriya-baithak-1.jpg)
माओवादीले केन्द्रीय समितिलाई चार सय नौ सदस्यीय बनाएको छ । केन्द्रीय समितिमा ३५ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ । बैठकमा तीन सय ८७ पूर्ण र एक सय ९६ वैकल्पिक केन्द्रीय सदस्य, अनुशासन, लेखा र निर्वाचन आयोगका सदस्य ४१ तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका ९० पदाधिकारीको सहभागिता थियो । बैठकमा पार्टी सदस्यको सङ्ख्या सात लाख ५२ हजार नौ सय ५६ रहको तथ्याङ्क प्रस्तुत भएको थियो ।
माओवादीको केन्द्रीय समिति बैठक एक वर्षपछि बसेको हो । यसअघि २०७९ साल असार १९ देखि २५ सम्म केन्द्रीय समितिको तेस्रो बैठक बसेको थियो । त्यसयता बैठक बस्न सकेको थिएन । पार्टी अध्यक्ष दाहालको नेृत्वमा वर्तमान सरकार गठन भएपछि गत माघ २६ गते ‘श्रव्य दृश्यका माध्यमबाट केन्द्रीय समितिको बैठक बसेको थियो । माओवादी केन्द्रले २०७८ पुसमा आठौँ महाधिवेशन गरेको थियो । माओवादीले केन्द्रीय बैठकको प्रत्यक्ष प्रसारण गर्ने पदाधिकारीको निर्णयमाथि स्थायी समितिका नेताहरूले विरोधपछि स्थगित गरेको थियो ।