१० कार्तिक २०८०, सुर्खेत — मुगुको छायाँनाथ रारा नगरपालिका-६ को मन्दुमा एकै परिवारका ४ जना मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार २८ वर्षीया श्रीदेवी बोहोरा, उनका २ छोरा र एक छोरीको शव घरमा भेटिएको हो । जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र थापाका अनुसार श्रीदेवीसहित उनका ११ वर्षीय छोरा मनोज, ९ वर्षकी छोरी अप्सरा र ८ महिने छोरा रहर मृत भेटिएका हुन् । घटनास्थल रक्ताम्मे देखिएकाले उनीहरूको हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
श्रीदेवीका श्रीमान् रोजगारीको सिलसिलामा कतारमा रहेका छन् । अनुसन्धानका लागि डीएसपी विरेन्द्र थापाको नेतृत्वमा प्रहरीको टोली घटनास्थल पुगेको कर्णाली प्रदेश प्रहरी प्रमुख भीमप्रसाद ढकालले जानकारी दिनु भयाे । घटनाको थप अनुसन्धान गर्न प्रदेशको टोली पठाएको पनि उहाँले बताउनु भयाे ।
