कमलमा गरियो धानमा मल परिक्षणः रासायनिक भन्दा प्राङगरिक प्रभावकारी भएको परिणाम (फाेटाे फिचर)

३ कार्तिक २०८०/डिकेश लामा

झापाको कमल गाउँपालिकाले यस बर्ष धानमा रासायनिक र प्राङगरिक मलको परिक्षण गरेको छ । एक दिन एकै प्रजातिको धानमा गरिएको परिक्षणमा स्थानीय क्षेत्रमा बनाइएको प्राङगरिक मलको प्रयोग प्रभावकारी देखिएको छ । कमल गाउँपालिकाको सहयोगमा सरस्वती प्राविधिक विधालयमा कृषि विषय पढ्दै गरेका विधार्थीहरुको निगरानीमा रोपिएको धान अहिले अन्तर देखिएको छ ।

धान रोप्दा देखि रेखदेख गर्दै आउनु भएको कलेज सहयोगी मुक्तिनाथ धमलाका अनुसार एकै दिन विउ राख्ने र रोप्ने गरेको धान अहिले फरक भएको छ । उहाँका अनुसार रासायनिक मल लगाएको धान भर्खरै पसाउन थालेको भए पनि कमल गाउँपालिकाले बनाएर प्रयोग गरिएको मलको धान पाक्न लागेको बताउनु भयो । यस्तै खेती गर्दा देखि नै रेखदेख गर्दै आउनु भएका प्राविधिक विधालयका कृषि विषयका विधार्थी प्रतिक कार्कीले बताउनु भयो । कार्कीका अनुसार गाउँपालिकाले बनाएको मलले रासायनिक मलको विकल्प दिन सक्ने धानको परिक्षणको परिणामले देखाएको उहाँले बताउनु भयो ।

कृषि प्राविधिक प्रेम पाेखरेल मल प्रयाेग स्थल देखाउँदै

गाउँपालिकाले उत्पादन गरेको कमल एनपीके अर्थात पोटासियम, फोसफोरस र क्याल्सियमको समिश्रण प्राङगरिक मल र रासायनिक युरिया मल लगाएर खेती गरिएको हो । फरक मल लगाएर गरिएको खेतीमा स्थानीय क्षेत्रमा बनाइएको मल धेरै प्रभावकारी देखिएको गाउँपालिकाका कृषि प्राविधिक प्रेम पोखरेलले बताउनु भयो । पोखरेलका अनुसार गाउँपालिकाले भारतबाट झिकाइएको कृषि वैज्ञानिकको सहयोगमा यस बर्ष देखि बनाउन थालिएको कमल एनपीके मलको विभिन्न प्रजातिको बालीमा गरेको परिक्षण प्रभावकारी बन्दै गएको बताउनु भयो ।

झापाको कमल गाउँपालिकाले ४ बर्ष देखि रासायनिक मलको विकल्प खोजी गर्नेक्रममा विभिन्न खाद्य तत्व भएको छुट्टाछुट्टै प्राङगरिक मल निर्माण र परिक्षण गर्दै आएको छ । हालसम्म गरेको परिक्षण र प्रयोग धेरै प्रभावकारी भएको कृषि शाखा प्रमुख महेन्द्र बोहोरालले बताउनु भयो । प्रमुख बोहोराका अनुसार यस बर्ष देखि प्राङगरिक मलको मसिना दाना बनाउने मेशिन समेत खरिद गरेर बृहतरुपमा मल उत्पादनको तयारी थालिएको छ । विगत ३ बर्ष देखि निरन्तर बनाइएको मलको परिक्षण पूर्वी नेपालको विभिन्न ल्यावको रिर्पोट र प्रयोग हेर्दा विस्तारै रासायनिक मल गाउँपालिकाबाट विस्थापित गर्दै लान सकिने उहाँले बताउनु भयो ।

वर्षेनी तराईका अधिक खेती योग्य जमिनमा खासगरी धान र मकैमा रासायनिक मलको प्रयोग अधिक हुन्छ । त्यो पनि भनेको समयमा नपाउँदा किसानहरुले सँधै सास्ती भोग्नु पर्ने हुन्छ । तर कमल गाउँपालिकाले भने आफैले उत्पादन गरेको प्राङगरिक मल नै प्रयोग गर्न थाले पछि पालिकामा धेरै किसानले रासायनिक मलको कटौती गर्न थालेको उनीहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post यूनिक कलेजको १९ औं साधारणसभा सम्पन्न
Next post चाडबाडमा ढाकाको माग तेस्रो मुलुकसम्मः कमलमा एक सय बढी महिलाहरु रोजगारीमा (फाेटाे फिचर)