चाडबाडमा ढाकाको माग तेस्रो मुलुकसम्मः कमलमा एक सय बढी महिलाहरु रोजगारीमा (फाेटाे फिचर)

४ कार्तिक २०८०/डिकेश लामा

पछिल्लो समय महिलाहरुले हातले बुनेका कपडाको माग र विक्री तेस्रो मुलुकसम्म हुन थालेको छ । चाडबाढको समयमा घरेलु उत्पादन ढाकाको कपडाको माग समेत बढे पछि यतिखेर गाउँघरका महिलाहरुले धमाधम उत्पादन गर्दै आएका छन् । पछिल्लो समय स्थानीय सरकारले समेत महिला सशक्तिकरणका लागि शीपमुलक तालिम दिनेक्रममा साँस्कृतिक भेषभुषाहरु बुनेर विक्री गर्नेक्रममा तेस्रो मुलुकमा समेत माग हुन थालेको हो ।
अन्य समय भन्दा चाडबाडमा नेपाली ढाकाको माग अधिक हुने गर्दछ । माग बढेको मौकामा यतिखेर झापाको कमल गाउँपालिकाका ढेड सय भन्दा धेरै महिलाहरुले घरेलु लघु ढाका उद्योगमा रोजगारी गर्दै आउनु भएकी कमल गाउँपालिका वडा नं. १ की उद्यमी महिला सानुमाया लिम्बुले बताउनु भयो । यस्तै आफूहरुले बुट्टाको आधार १ हजार ५ सय देखि २ हजार ५ सय रुपयाँसम्म ज्याला पाउने गरेको अर्की उद्यमी महिला रेनुका रायमाझीले बताउनु भयो ।

उद्यमशील महिला जागरण केन्द्रले महिलालाई झोला, ढाकाको साडी, माला, मुढा, परालको जुत्ता उत्पादन लगायतका तालिम दिँदै आएको छ । शीप सिकेका महिलाले घर घरमा वसेर उत्पादन गरेको ढाकाका साडीहरु तेस्रो मुलुकसम्म पठाउने गरिएको केन्द्रकी अध्यक्ष शान्ता उप्रेती दाहालले बताउनु भयो । दाहालका अनुसार पछिल्लो समय क्यानाडा, अमेरिका अष्ट्रेलिया लगायतका देशहरुमा उद्यमशील केन्द्रमा महिलाहरुले बुनेका ढाका साडीहरु विक्री र माग हुँदै आएको छ । चाडबाडको मुखमा अझ बढी माग हुने भएकाले आफूहरुले अहिले कमलमा एक सय भन्दा धेरै महिलालाई रोजगारी दिएको उहाँले बताउनु भयो । केन्द्रले कोशी, मधेस र बागमती प्रदेशसम्म तालिम दिँदे आएको बताउनु भयो ।

कमल गाउँपालिकाले विपन्न र पिछाडिएका महिलाहरुलाई स्वरोजगार बनाउन घरेलु मेशिन वितरण देखि तालिम समेत दिँदै आएको छ । लघु उद्योग संचालनका लागि शीप सिकाउने र रोजगारी दिलाउने कार्यका लागि आफू सक्रीय भएर लागेको पालिकाकी उपाध्यक्ष प्रमिला न्यौपानेले बताउनु भयो । न्यौपानेका अनुसार एडभान्स तालिम लिएकाहरुले रोजगारको समेत माग गरे पछि त्यस्ता उद्योगहरुमा समन्यव गरेर काम समेत लगाइ दिने गरेको बताउनु भयो ।

झापा जिल्लामा कोरोना कहरसँगै स्वदेशमै रोजगारी गर्नेहरुको संख्या बढे पछि लघु उद्योग दर्ता गर्नेक्रम समेत बढेको छ । जिल्लामा दर्ता भएका ५ हजार हाराहारीका लघु उद्योगहरु पछिल्लो समय अधिकांश महिलाको नामबाट दर्ता हुनेक्रम बढेको घरेलु तथा साना उद्योग कार्यालय झापाले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post कमलमा गरियो धानमा मल परिक्षणः रासायनिक भन्दा प्राङगरिक प्रभावकारी भएको परिणाम (फाेटाे फिचर)
Next post चुलाचुलीमा भएको प्रथम देउराली कप २०८० को उपाधी आयोजकलाई (फाेटाे फिचर)