उन्नत जातको वेमौषमी कुरिलो दोब्बर मुल्य एक हजार रुपयाँमा खेतीबादै विक्री हुँदै

२४ पौष २०८०/डिकेश लामा

विदेशबाट ल्याएको उन्नत विऊको वेमौषमी कुरिलो उत्पादन गर्न सफल झापाका किसानले यतिखेर राम्रो आम्दानी लिने गरेका छन् । मौषमी कुरिलो प्रति केजी ४ देखि ५ सयमा विक्री हुने भए पनि यस वेला उत्पादन हुने वेमौषमी कुरिलो भने दोब्बर मुल्यमा विक्री भइरहेको छ ।

फागुन महिना देखि जेष्ठसम्म अधिक उत्पादन हुने कुरिलो यो वेला खासै उत्पादन हुँदैन । तर लामो समय देखि खेती गर्दै आएका झापाको दमक वडा नं. ३ का युवा चिरञ्जीवि घिमिरेले भने यतिखेर पनि काठमाण्डौंको बजारसम्म प्रति केजी १ हजार रुपयाँसम्म विक्री गर्र्दै आउनु भएको छ । उहाँले जापानबाट उन्नत विऊ झिकाएर व्यवसायिकरुपमा कुरिलो खेती गर्दै आउनु बताउनु भयो । घिमिरेका अनुसार जापानबाट झिकाइएको विरुवाको टुसाको मोटाइ पनि ठूलो हुने गर्छ । सामान्य मारिवासिङ्टन जातको लोकल कुरिलोको टुसा १० देखि १५ ग्राम हुन्छ भने जापनिजको भने ८० देखि ९० ग्रामसम्मको टुसा आउने भएकाले लगानी अनुसारको फाइदा पनि धेरै हुने उहाँले बताउनु भयो । मेहनेत गर्न सक्दा १ विगाहमा १५ लाखसम्मको उत्पादन लिन सकिने उहाँले बताउनु भयो । कुरिलो खेती गर्दा पूर्णरुपमा अर्गानिक विधिबाट गर्न सक्दा मात्र दिर्घकालिन र उपयुक्त हुने उहाँले बताउनु भयो ।

पानी नजम्ने बलौटे माटोमा वेमौषमी कुरिलो समेत हुने भए पछि किसानले यसलाई जोड दिन थालेका छन् । पोसिलो र औषधीय गुण समेत हुने कुरिलोले स्थानीय स्तरमा रोजगार समेत सृजना गरेको छ ।
झापामा नेपाल बहुउदेश्य सहकारी संस्थाको कृषि फार्म लगायत निजी कृषकहरुले पनि विरुवा उत्पादन गरेर विक्री गर्दै आएका छन् ।

पछिल्लो समय झापा जिल्लामा खासगरी यूवाहरु कुरिलो खेतीमा आकार्षित बन्दै गएका हुन् । ठूला होटल तथा रेष्टुरेन्टमा विदेशीले समेत अधिक रुचाउने भए पछि ठूल्ठूला शहरहरुमा पछिल्लो समय यसको माग बढेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताउनु भयो । विष्टका अनुसार झापामा कुरिलो खेती तर्फ यूवाहरुको आकार्षण धेरै बढ्दै गएको छ । यसको माग ठूल्ठला शहरका होटल तथा यसको फाइदा बुझ्ने उपभोक्ताले समेत अधिक माग गर्ने भएकाले यसको बजार बढ्दै गएको छ ।

झापा जिल्लामा विगत ५ बर्ष देखि कुरिलो खेती व्यवसायिकरुपमा गरिँदै आइएको छ । पछिल्लो समय ठूला बजारहरुमा समेत यसको माग बढ्न थाले पछि किसानले बर्षेनी खेती विस्तार गर्न थालेको उनीहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post बाली विमाको भुक्तानी २ बर्षसम्म नपाउँदा किसान निरुत्साहितः अढाइ करोडको दावीमा ६३ लाख मात्र भुक्तानी
Next post बलात्कार मुद्दामा दोषी सन्दीप लामिछानेलाई ५ लाख जरिवाना सहित ८ वर्ष जेल सजाय