पत्रकारहरू निष्पक्ष भइ समाचार प्रेषण गर्नु पर्नेमा जाेड

२२ माघ २०८०, झापा– पत्रकारहरूले कुनै पनि राजनैतिक भातृ संगठनकाे पक्षमा नभइ निष्पक्ष भइ समाचार प्रेषण गर्नु पर्नेमा जाेड दिइएकाे छ ।  प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसकाे अवसरमा जिल्ला समितिले आयाेजना गरेकाे कार्यक्रममा बाेल्दै कार्यक्रमकी प्रमुख अतिथि पूर्व उपसभामुख शिवमाया तुम्बाहाम्फेले पत्रकार कुनै पनि संघ संगठनकाे नभइ स्वतन्त्र भइ कलम चलाउनु पर्ने बताउनु भयाे । उहाँले पछिल्लाे समय गठबन्धनकाे सरकार पक्षका पत्रकारले एमालेलाइ हदैसम्म लखेट्ने काम समेत गरेकाे आराेप लगाउनु भयाे । आज बिर्तामोड ७ स्थित शहिद नेत्र पार्कमा गरिएकाे कार्यक्रममा पत्रकार महासंघका पूर्व अध्यक्ष लगायत राजनैतिक तथा सांगठनिक नेतृत्वले पत्रकारहरूले आचार संहिता र समाचारीय मुल्य मान्यतालाइ भुल्न नहुनेमा जाेड दिइएकाे छ ।

स्थापना दिवसको अवसरमा प्रेस चौतारीले झापाको दोस्रो अध्यक्ष तोयानाथ उपेक्षितलाई नगद २५ हजारसहित सम्मान गरेको छ । उपेक्षित वैदेशिक रोजगारीको शिलशिलामा कुवेतमा रहेकाले उनका सहकर्मी रमेश गौतमले उक्त सम्मानपत्र ग्रहण गर्नु भयाे । साे अवसरमा बिरामी भएका तीन जना पत्रकारलाई पत्रकार उपचार सहयोग कोषबाट उपचार खर्च वापत रकम बितरण गरेको छ । पत्रकार उद्धव पुरी, तुलसीप्रसाद निरौला र सावित्रा दाहाललाई जनही ५ हजार रुपैयाँका दरले सहयोग प्रदान गरेको हो । त्यस्तै बिर्तामोड आँखा अस्पतालको प्राविधिक सहयोगमा कार्यक्रममा सहभागी पत्रकारहरूले निःशुल्क आँखा परीक्षण समेत गराएका छन् ।

मनकुमार गदालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य मेनुका काफ्ले, एमाले झापा सचिव शिव ढुङ्गेल, प्रेस काउन्सिलका सदस्य गणेश पोखरेल, नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष केशव आचार्य, महासंघका कोशी प्रदेश कोषाध्यक्ष बिमल लामिछाने, झापा सचिव डिकेश लामा, प्रेस युनियन केन्द्रिय सचिव रेजिना रोदन, बिर्तामोड–७ वडाध्यक्ष अविरल कृष्ण खरेल लगायतले शुभकामना मन्तव्य राखेका छन् ।चौतारी झापाका उपाध्यक्ष प्रदीप परियारले स्वागत गरेको कार्यक्रमकाे सञ्चालन संगठनका झापा कोषाध्यक्ष तीलक योञ्जनले गर्नु भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालकै सवै भन्दा धेरै रहेको झापाका नेपाली हाते कागजका घरेलु उद्योग संकटमा (फाेटाे फिचर)
Next post मुख्यमन्त्रीसहित पदाधिकारीको सुविधा वृद्धि गर्न ल्याइएको अध्यादेश विरुद्ध सर्वाेच्चमा रिट