१३ असार २०८१, भक्तपुर– राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० को नतिजामा ४७ दशमलव ८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
परीक्षा नियन्त्रण बोर्डका अध्यक्ष प्रा डा महाश्रम शर्माले नतिजा सार्वजनिक गर्दै चार लाख ६४ हजार सात सय ८५ परीक्षार्थीले परीक्षा दिएको जानकारी दिँदै उतीर्ण भएकामध्ये १ सय ८६ जनाले ४ जीपीए ल्याएको बताउनुभयो । परीक्षामा सहभागी भएकामध्ये ५२ दशमलव १४ प्रतिशत परीक्षार्थी अनुत्तीर्ण भएका छन् । १ लाख १४ हजार ४८ छात्र र एक लाख २८ हजार दुई सय ५७ छात्रासहित कुल दुई लाख ४२ हजार तीन सय १३ परीक्षार्थीको ‘एनजी’ अर्थात् ‘ननग्रडेड’ आएको छ ।
बोर्डका अध्यक्ष प्रा डा शर्माले एउटा विषयमा एनजी आउने ६७ हजार ७ सय ९३ र दुई विषयमा एनजी आउने ४८ हजार ३८ विद्यार्थी रहेका छन् । २ सय २१ जनाको परीक्षा रद्द भएको उहाँले जानकारी दिनुभयो ।
यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरिएको हो । सैद्धान्तिक ७५ पूर्णाङ्क विषयमा कम्तीमा २७ अङ्क र आन्तरिक मूल्याङ्कन २५ पूर्णाङ्कमा कम्तीमा १० अङ्क प्राप्त गर्नुपर्ने हुन्छ । एक सय पूर्णाङ्कमा कम्तीमा ३७ अङ्क ल्याउनुपर्ने अन्यथा त्योभन्दा कम अङ्क आएमा ‘एनजी’ ननग्रेडड आउँछ । अर्थात ११ कक्षा पढ्न पाउने छैनन् ।
यता लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा प्रकाशन गर्ने भन्ने जानकारी विना नै नतिजा प्रकाशन गरेकाे प्रति संस्थागत विधालयले भने असन्तुष्टी समेत जनाउँदै आएका छन् ।
यस वर्षको एसइईमा सबैभन्दा बढी विद्यार्थीको गणितमा एनजी आएको छ । गणित विषयमा एक लाख ७७ हजार नौ सय ८५ विद्यार्थीको एनजी आएको छ । यस्तै विज्ञानमा एक लाख २६ हजार नौ सय ३३ तथा अङ्ग्रेजीमा एक लाख एक हजार तीन सय ८३ विद्यार्थीको एनजी आएको बोर्डका अध्यक्ष प्रा डा शर्माले बताउनुभयो ।
सामाजिकमा ७३ हजार ८ सय ७७, नेपालीमा ६९ हजार पाँच सय ३२, अर्थशास्त्रमा ६९ हजार ४ सय १६ तथा ऐच्छिक गणितमा २० हजार ३ सय ५२ विद्यार्थीको एनजी आएको छ । दुई विषयसम्म एनजी आउने विद्यार्थीको हकमा पुरक परीक्षा आगामी साउन १८ र १९ गतेलाई तोकिएको छ । प्रकाशित नतिजामा चित्त नबुझेमा पुनर्योग गर्न र उत्तरपुस्तिका पुनः परीक्षणसमेत गराउन सक्ने व्यवस्था छ । पुनर्योगका लागि परीक्षार्थीले आफूले पुनर्योग गर्न चाहेका विषयका लागि कार्यालयको वेवसाइटमा गई पुनर्योग फाराम भरी आवेदन दिने व्यवस्था रहेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *