‘तपस्वी’ बम्जनलाई १० वर्ष कैद ५ लाख रूपयाँ जरिवाना हुने फैसला

१७ असार २०८१, काठमाडौँ– जिल्ला अदालत सर्लाहीले ‘तपस्वी’ रामबहादुर बम्जनलाई १० वर्ष कैदकाे फैसला गरेकाे छ । यस्तै पाँच लाख रूपयाँ क्षतिपूर्तिकाे सजाय फैसला गरेको छ । आज न्यायाधीश जीवनकुमार भण्डारीको एक इजलासले बम्जनलाई १० वर्ष कैद र पीडितलाई पाँच लाख क्षतिपूर्ति भराउने आदेश फैसला गरेको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिनुभयो ।

गत सोमबार ‘तपस्वी’ बम्जनले बालिका माथि यौनजन्य कसुर गरेको ठहर गरेको थियो । सोही विषयमा आज सजाय सुनाइएको हो । बालिकाको परिवारले सर्लाहीको लालबन्दी नगरपालिकास्थित पत्थरकोटमा रहेको आश्रममा रहेका बेला बारा जिल्लाको निजगढ नगरपालिका–१२ निवासी ३० वर्षीय बम्जनले यौनशोषण गरेको भन्दै २०७६ माघ २३ गते जिल्ला प्रहरी कार्यालय मलङ्गवामा किटानी जाहेरी दिएको थियो । सोही मुद्दामा बम्जनलाई काठमाडौँको बूढानीलकण्ठ नगरपालिका-६ स्थित निवासबाटै २०८० साल पुस २४ गते साँझ सिआइबीको टोलीले पक्राउ गरेको थियो । पुस २६ गते अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि बम्जन जिल्ला कारागार महोत्तरी जलेश्वरमा रहेका थिए ।

‘लिटिल बुद्ध’ समेत भनिने बम्जनमाथि आश्रममा बस्ने अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौनहिंसा गरेको आरोप छ । बम्जनविरुद्ध पाँच परिवारले उजुरी दिएका छन् । आश्रममा बस्दै आएका तीन युवती र दुई युवालाई बेपत्ता पारेको आरोप छ । पक्राउ गर्दा बम्जनको साथबाट प्रहरीले ३ करोड ३४ लाख ३७ हजार ९ सय ६.७ रुपैयाँ बरामद गरेको थियाे । विभिन्न १७ देशका विदेशी मुद्रासहित उनको साथबाट उक्त परिमाणको नेपाली रुपैयाँ बरामद भएको सीआईबीले जानकारी दिएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post महँगो करले सुपारी किसान मारमाः प्रति केजी काँचो सुपारीमा ६ रुपयाँसम्म कर
Next post नयाँ सत्ता समीकरणले सरकार परिवर्तन हुँदैः भाेलि नै राजिनामा दिन एमालेकाे प्रचण्डलाई आग्रह