बहुप्रतिक्षित हुलाकी सडकका पुलहरु धमाधम बन्दै
८ चैत्र २०७७,डिकेश लामा
झापाको बहुप्रतिक्षित हुलाकी सडकमा पर्ने विरीङ्ग र कन्काई नदिमा लामो समय देखि अधुरा रहेका पुल यस बर्ष भने धमाधम बन्न थालेका छन् । झण्डै १ दशक अघि निर्माण थालिएको पुल पछिल्लो समय धमाधम बन्न थाले पछि बर्षौं देखि पुल नहुँदा समस्यामा परेका बासिन्दाहरु खुशी बनेका छन् ।
दक्षिण झापाको हुलाकी सडकमा पर्ने ढेड दर्जन हाराहारीका पुलहरु धेरैजसो निर्माण भईसकेका छन् । तर सो सडक खण्डमा पर्ने मुख्य विरीङ्ग र कन्काई खोलाको पुल निर्माण थालेको एक दशक वित्न लाग्दा समेत अझै पनि निर्माण भईसकेको छैन । लामो समय अलपत्र छाडिएका पुल हालै आएर धमाधम बन्न थाले अव भने पुल बन्ने आशा पलाएको स्थानीय इश्वर माझीले बताउनु भयाे ।
२०६८ सालमा १५ करोड ५० लाख मुल्यामा लागेको ठेक्काबाट विरीङ्ग खोलाको ३ सय १९ मिटर लम्बाईको पुल २०७२ जेठ मसान्तमा निर्माण सक्नु पर्ने थियो । पटक पटक म्याद थप गर्दा समेत पुल निर्माण भएको छैन । कोरोना कहरले पुलको काम थप प्रभावित बने पछि हालै आएर तिव्ररुपमा काम भईरहेको पुल निर्माण कम्पनि लामा मैना चुली जेभीमा इन्जिनियर राघव यादवले बताउनु भयो ।
यस्तै यता कन्काई नदिको पुलको काम समेत धमाधम भइरहेको छ । आगामी बर्षसम्म निर्माण सक्ने गरी यो बर्ष देखि ढलानको काम समेत थालिएको निर्माण कम्पनिको साइड इन्चार्ज विश्व लामाले बताउनु भयो । धमाधम निर्माण भइरहेको हुलाकी सडक विरीङ्ग र कन्काई नदिको पुलको काम नसकी संचालनमा आउन सक्दैन । तसर्थ सडक सँगसँगै पुल निर्माणको काम सक्ने गरी गराउन सरोकारवालाले ध्यान दिनु पर्ने स्थानीय बासिन्दाको भनाइ छ ।