पारिवारिक बेमेलकै कारण हत्या: महिलालाई टुक्रा–टुक्रा पारेर खाेलामा फालियाे

आफन्तबाटै धेरै हत्या

६ असाेज २०७८, सारा सन्देश समाचार– पारिवारिक बेमेलका कारण भारतमा विवाह गरेकी एक महिलाको क्रूरतापूर्वक हत्या भएको खुलासा भएकाे छ । जिल्ला प्रहरी कार्यालय झापाले आज पत्रकार सम्मेलन गरी खाेलामा भेटिएकाे शरीरकाे मध्य भागकाे अंगबाट गरिएकाे अनुसन्धानले अपराधी पक्राउ गर्न सफल भएकाे जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरिक्षक सानुराम भट्टराइले बताउनु भयाे । गत भदाै २४ गते भएकाे घटनाकाे अनुसन्धानले  भारतको किसनगन्ज जिल्ला सिंघिमारी ग्राम पञ्चायतमा विवाह भएर गएकी नेपाली महिला अन्दाजी ५५ वर्षीया डोली भनिने धोन्नी टुडुको धारिलो हतियार प्रयोग गरी टुक्रा–टुक्रा पारेर हत्या गरिएको हो भन्ने खुलासा भएकाे सम्मेलनमा प्रहरी नायव उपरिक्षक राकेश थापाले बताउनु भयाे ।

डाेलीलाई झापा गाउँपालिका– १ मा रहेको माइतीमा आउने क्रममा बाटोमै हत्या गरिएको प्रहरीले जनाएको छ। भदौ २४ गते राति करिब ११ बजेतिर माइत आउने क्रममा उनलाई आफन्तले नै हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनका श्रीमानको पनि उनको हत्याभन्दा १५ दिनअघि मात्र मृत्यु भएको थियो। घरमा उनकी सौता पनि थिइन् । सम्पतिकाे लाेभले हत्या भएकाे आशंका रहेकाे प्रहरीले जानकारी दिएका छन् ।

श्रीमानको मृत्युपछि घरमा पारिवारिक बेमेल सुरु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। किरिया सकिएको भोलिपल्टै माइत आएकी उनलाई धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो । प्रहरीले २५ भदौमा झापा– १ स्थित सानो माईखोलामा कम्मरमुनि र घुँडामाथिको भाग मात्र भेटेको थियो ।  लाशकाे बाँकी भाग अझै फेला पर्न नसकेकाे डीएसपी थापाले बताउनु भयाे ।

हत्या अभियोगमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  मृतका भान्जा भारत घर भएका २३ वर्षीय ऐतवार सोरेन, मृतकाको सौताका भाइ झापा– १ का ३७ वर्षीय लखन टुडु सन्थाल रहेका छन् । यस्तै, घटना थाहा पाएर पनि लुकाउन सहयोग गरेको अभियोगमा प्रहरीले झापा १ का ५६ वर्षीय सिरी साइला भनिने सोमाई हेमरम सतार र सोही ठाउँका २७ वर्षीय हेमरम सतार रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका मध्ये एक जनालाइ काेराेना पाेजिटिभ भएकाले छुट्टै राखिएकाे छ ।  उनीहरूलाई १ असोजमा झापा गाउँपालिकाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकालाई जिल्ला अदालत झापाबाट सात दिनको म्याद थप गरेर जिल्ला प्रहरी कार्याय झापामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेकाले हत्या गरेर धारिलो हतियार दाउले शरीर टुक्रा–टुक्रा पारेर फालेको स्वीकार गरेको प्रहरी उपरीक्षक भट्टराईले जानकारी दिनु भयाे ।

पछिल्लाे समय जिल्लामा भएका अधिकाशं घटना आफन्त, नाता वा चिने जानकैबाट हुने गरेकाे सम्मेलनमा जानकारी दिइएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post दमकका स्काउटले मनाए अन्तर्राष्ट्रिय शान्ति दिवस
Next post नेपालमा आज १४७८ संक्रमित, १६३० निकाेः ६ जनाकाे मृत्यु