पानी र पहिराेले ठूलाे धनजनकाे क्षतिः २ दिनकाे पानीले देशभर दर्जनाैंकाे मृत्यु, सयाैं बेपता

२ कार्तिक २०७८, सारासन्देश खबर– २ दिन देखि लगातारको वर्षा, हुरीबतास र बाढी-पहिरोका कारण देशका विभिन्न स्थानमा बाढी पहिराेका कारण दर्जनाैं संख्यामा मानिसकाे ज्यान गएकाे छ । डोटी जिल्लामा मात्र बिभिन्न ठाउँमा ९ जनाको मृत्यु भएको छ भने घटनामा एक जना बेपत्ता छन् । डोटीमा मात्र बिभिन्न ठाउँका ६५ भन्दा बढी घरपरिवार विस्थापित भएका छन् । यस्तै यता धरानमा समेत पहिराेले घर पुरिदाँ २ जनाकाे बालबालिकाकाे मृत्यु भएकाे छ । बैतडीमा पहिरोले घर पुरिदा बालकसहित तीन जनाको मृत्यु भएको छ । अविरल वर्षासँगै घर माथिबाट आएको पहिरोमा पुरिएर जिल्लाको शिवनाथ गाउँपालिका–६ मा तीन जनाको मृत्यु भएको हो ।

यस्तै यता महाकाली नदीको बाढीले चार लेनको पहुँच मार्गको डेढ किलोमिटर सडक खण्ड भत्काएको छ । नदीको उच्च बहावका कारण सो सडकखण्ड भत्किएको हो ।  निरन्तरको वर्षासँगै आएको बाढीले सडक बगाउँदा धरान–धनकुटा सडक खण्ड अवरुद्ध भएको छ । धनकुटाको साघुरीगढी– ६ मा लेउती खोलाले करीब एक सय मिटर सडक कटान गरेपछि मंगलबार दिउँसोबाट सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि पहाडी क्षेत्रबाट धरान आउदै गरेका र धरानबाट पहाडी जिल्लातर्फ जादै गरेका सवारी रोकिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । वर्षा जारी रहेकाले सडक तत्काल खुल्न सक्ने अवस्था नभएको प्रहरीले जनाएको छ । यस्तै बाढीका कारण इटहरी– विराटनगर सडकखण्ड पनि प्रभावित भएको छ । प्रदेश-१ ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रहरी उपरीक्षक बासुदेव खतिवडाका अनुसार इटहरीमा रहेको साथी पेट्रोलपम्प छेउमा टेङ्ग्रा खोलामा निर्माणाधिन पुलमाथिबाट बाढी बग्‍न थालेपछि यातायात प्रभावित भएको हो ।

यसैगरी आइतबारदेखि भइरहेको लगातारको वर्षापछि महाकाली नदीमा पानीले खतराको सतह नाघेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले नदीमा पानीले खतराको सतह नाघेको जानकारी दिनुभयो । उहाँका अनुसार मङ्गलबार बिहान गरिएको मापनअनुसार महाकालीमा पानीको सतह बढेर तीन लाख ९१ हजार क्युसेक पुगेको छ । नदीमा पानीले खतराको सतह नाघेपछि शारदा ब्यारेजमा आवागमन रोक लगाइएको छ । अहिले शारदा ब्यारेजमा सवारीसाधन र मानिसको आवागमनलाई पूर्ण रुपमा रोक लगाइएको प्रहरीले जनाएको छ ।

महाकाली नदी तटीय क्षेत्रमा पस्दा धेरै परिवार प्रभावित भएको बताउँदै प्रहरी नायब उपरीक्षक न्यौपानेले बाढीले पुर्‍याउको क्षति बारे तथ्याङ्क सङ्कलन तथा उद्दारको काम भइरहेको जानकारी दिनुभयो । सुदूरपश्चिमका पहाडी जिल्ला र तराईमा आइतबार रातिदेखि लगातार वर्षा भइरहेको छ ।

यता पूर्वी नेपालकाे इलाम, झापा र माेरङमा समेत हावाहुरी सहित अाएकाे पानी र बाढीले ठूलाे क्षति गरेकाे छ । गाैरीगंज गाउँपालिका वडा नं. १ हाेकलाबारीका ४० घर डुबानमा परेकाे जिल्ला प्रहरी कार्यालय झापाका प्रबक्ता प्रहरी नायब उपरिक्षक राकेश थापाले जानकारी दिनु भएकाे छ । नेपालमै सवै भन्दा धेरै धान खेती हुने जिल्लामा अगुवा धान काटेका किसानकाे धान डुवानमा परेर नष्ट भएकाे छ ।

यता बझाङ जिल्लाकाे थलारा गाउँपालिका–४ डिख्लामा मङ्गलबार बिहान ४ बजे पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् । गाउँभन्दा माथि ढोगदिना भन्ने ठाँउबाट पहिरो जाँदा दुई गाउँका स्थानीय विस्थापित भएका छन् भने सात घर पुरिएका छन् । बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ र नरे पार्कीका घरका पाँच जना रहेका छन् ।  बेपत्ता हुनेमा गगने सार्कीको घरका हर्कु, धनगिरी, सीता, प्रवास, भूमिका, चिरञ्जीवी, इस्सरा, सञ्जीव, सविता, सरोज, शर्मिला, पम्मा, सुवास, विकास, एक जना नाम नखुलेका रहेका छन् भने मदन(सरस्वती मावि पीपलगडाका शिक्षक) कलुदेवी र एलिसा सार्की गरेर १८ जना छन् । यस्तै नरे पार्कीका घरका उजली, आयुष, हिमा र सीमा गरेर पाँच जना रहेका छन् ।

तल्लो डिख्ला र माथिल्लो डिख्ला गाउँका स्थानीय विस्थापित भई त्रिभुवन मावि महेन्द्रधारमा बसिरहेका छन् । गाउँ पहिराको जोखिममा रहेपछि १०० भन्दाबढी परिवार विस्थापित भई आफन्त र नजिकैको विद्यालयमा बसिरहेको शान्ती मावि पाराकाट्नेका शिक्षक मदनबहादुर साउँदले जानकारी दिनु भएकाे छ । लगातार परेकाे अविरल बर्षाले तराइका सवै नदि तथा खाेलामा उच्च पानीकाे बहाव रहेकाे छ । कतिपय स्थानमा खाेलाे कटान गरेर घर तथा सडकमा समेत क्षती पुर्याएकाे प्रहरीले जानकारी दिएकाे छ । तथापि के कति क्षति भयाे भन्ने विवरणहरू संकलन र उदारकाे कार्य भइरहेकाे गृह मन्त्रालयले जानकारी दिएकाेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज १०९६ संक्रमित, १००४ निकाेः १२ जनाकाे मृत्यु
Next post नेपालमा आज ६६२ संक्रमित, ७५८ निकाेः १३ जनाकाे मृत्यु