एशियामा एक बर्ष खाेप आउन एक बर्ष लाग्ने

३ पाैष २०७७, काठमाडौं- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ विरुद्धको खोप आयात गरी जनतालाई उपलब्ध गराउन स्रोतको अभाव नहुने बताउनुभएको छ । विश्व बजारमा विभिन्न कम्पनीले उत्पादन गरेको खोप सहजरुपमा उपलब्ध हुने क्रममा रहेको उल्लेख गर्दै उहाँले सरकार खोप आयात तथा वितरणका लागि लागिपरेको बताउनुभयो ।
नेपाल आर्थिक पत्रकार सङ्घको नवनिर्वाचित कार्य समितिका पदाधिकारीसँगको भेटमा अर्थमन्त्री पौडेलले कोभिड–१९ को लक्षण देखिएका नेपालीको निःशुल्क परीक्षण र उपचार गरे जसरी नै खोपको आर्थिक दायित्व पनि राज्यले व्यहोर्ने बताउनुभयो । “भ्याक्सिनमा नागरिकले दायित्व व्यहोर्नु पर्दैन, हामी त्यो तयारीमा छौँ”, उहाँले भन्नुभयो, “भ्याक्सिन ल्याउनका लागि भ्याक्सिन उत्पादन गरेका देशसँग कुटनीतिक संवाद जारी राखेका छौँ ।”
उहाँले विश्व बजारमा सहजरुपमा उपलब्ध हुनासाथ नेपालमा आयात गर्नका लागि तयारी भइरहेको जानकारी दिनुभयो । मन्त्री पौडेलले मापदण्ड अनुसार कोभिड–१९ विरुद्ध अग्रमोर्चामा खटिएका र वृद्धवृद्धालाई प्राथमिकता दिने र त्यसपछि सबैलाई खोप उपलब्ध गराएर कोभिड विरुद्धको लडाईलाई निर्णायक बनाउने दिशामा सरकार केन्द्रित रहेको बताउनुभयो ।
एशिया प्रशान्त क्षेत्रमा खाेप आउन झण्डै एक वर्ष लाग्छः डब्लुएचओ
तर यता विश्व स्वास्थ्य संगठन डब्लुएचओ ले एसिया प्रशान्त क्षेत्रमा कोरोना विरुद्धको खोप आउन झण्डै एक वर्ष लाग्न सक्ने जनाएको छ ।
यस क्षेत्रमा तत्काल खोप पाउने सम्भावना कम रहेको बताउँदै ६ महिनादेखि एक वर्षसम्म लाग्न सक्ने जनाएको हो ।
खोप ढिला आउनुको मुख्य कारण खोपको विकास र प्रभावकारिताको अवस्था अझै पनि परीक्षणकै क्रममा रहेको बताइएको छ ।
