झापा गाेल्डकपकाे पहिलाे खेलमा सात दाेबाटाे विजयी
२१ फाल्गुण २०७८,झापा– झापाको बिर्तामोडमा आज देखि सुरु भएको पाँचौँ संस्करणको झापा गोल्डकपको पहिलो दिनको खेलमा सात दोवाटोले विजयी शुरुवात गरेको छ । टाइब्रेकरमा जावलाखेल युथ क्लबलाई ४–२ गोल अन्तरले पराजित गर्दै सातदोबाटोले क्वार्टर फाइनलको यात्रा तय गरेको हो ।
टाइब्रेकरमा जावलाखेलका लागि विदेशी खेलाडी जुनियर र सुरजजीउ ठकुरीले प्रहार गरेको बल सातदोबाटोका गोल रक्षक अभिषेक बरालले रोक्न सकेनन् । जावलाखेलका राजेन्द्र रावल र गौरव श्रेष्ठको प्रहार विपक्षी गोल रक्षक बरालले विफल गरेका थिए ।
सातदोबाटोका आकाश बुढामगर, प्रसान्त अवस्थी, कप्तान मानबहादुर तामाङ र विदेशी खेलाडी अजयी मार्टिनले टाइब्रेकरमा गोल गर्न सफल भएका छन् । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको उद्घाटन खेलको तेस्रो मिनेटमै सातदोबाटोका लागि अजयी मार्टिनले गोल गरेका थिए । निरज चौधरीले डिबक्समा दिएको पासलाई सदुपयोग गर्दै मार्टिनले ‘वान टच’मा गोल गरेका छन् । खेलको १३ औँ मिनेटमा जावलाखेलले १/१ को बराबरी गर्यो । विदेशी खेलाडी निकोलस फर्नान्डेजको क्रसमा जुनियरले गोल गरे । खेलको ३५ औँ मिनेटमा जुनियरले दोस्रो गोल गर्दै खेललाई २–१ को अन्तरमा पुर्याएका थिए ।
पहिलो हाफ २–१ मा खेल टुंगिएकाे थियाे । दोस्रो हाफको ८ औँ मिनेटमा सातदोबाटोका आशिष राईले गोल गर्दै खेल बराबरीमा पारे पछि खेल ट्राइव्रेकरमा प्रवेश गरेको हो । पहिलो खेलको म्यान अफ दि म्याच सातदोबाटोका गोलरक्षक अभिषेक बराल घोषित भए । उनले नगद ९ हजार ९९९ नगद पाएका छन् ।
३० फागुनसम्म हुने प्रतियोगिताको विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार पुरस्कार पाउने आयोजक समिति अध्यक्ष विनोद बस्नेतले जानकारी दिनु भयो । प्रतियोगितामा नेपालका ८ र भारतका दुई क्लबको सहभागिता रहेको छ । पाँचौँ संस्करणको झापा गोल्डकपको उद्घाटन पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नु भयो । भाेलि दोस्रो खेल नेपाल पुलिस क्लब र संकटा क्लबबीच हुने आयोजकले जनाएको छ ।