२२ फाल्गुण २०७८, सारासन्देश समाचार– झापाको विर्तामोड स्थित डोमालाल राजबंशी रंगशालामा जारी पाँचौँ संस्करणको झापा गोल्ड कपको दोस्रो दिनको खेलमा संकटा क्लब काठमाडौँ क्वार्टर फाइनलमा प्रवेश गरेको छ । नेपाल पुलिस क्लबलाई शून्यको विरुद्ध १ गोल गर्दै संकटाले क्वार्टर फाइनलको यात्रा तय गरेको हो ।
खेलमा संकटाका उत्तम राईले ६५औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्याे । उनले फोडे फोफोनाको क्रसलाई हेडमार्फत गोलमा परिणत गरेका छन् । आज भएको खेलको प्लेयर अफ द म्याच विजेता टिम संकटाका फोडे फोफोना घोषित भएका छन् । उनले नगद ९ हजार ९९९ रुपैयाँ प्राप्त गरेका छन् ।

फागुन ३० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद १२ लाख ५५ हजार पाउनेछ भने उपविजेताले ६ लाख पाँच हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछन् । उत्कृष्ट मिडफिल्डर, डिफेन्डर, स्ट्राइकररले नगद २१ हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा सर्वाधिक गोलकर्ताले नगद २५ हजार पाउनेछ । भोलि सोमबारको क्वार्टर फाइनल खेल सशस्त्र प्रहरीको एपीएफ क्लब र सातदोबाटो युथ क्लबबीच हुने आयोजकले जानकारी दिएको छ ।

