सँस्कृति संरक्षणमा सक्रीय बन्दै धिमाल जाति (फाेटाे फिचर सहित)

७ वैशाख २०७९/डिकेश लामा

खासगरी पूर्वी नेपालको झापा, मोरङ्ग र सुनसरीमा बसोबास गर्ने आदिबासी धिमालहरुले लोपोन्मुख सँस्कृतिको जर्गेना गर्न सामुहिक प्रयास थालेका छन् । पूर्खाहरुको उद्गम थलो धिमाल डाँडामा एकै स्थानमा भेला भएर उनीहरुले बैशाखको पहिलो साता पूजापाठ सहित यस बर्षको जात्री मेलाको थालनी गरेका छन् ।

आफ्नो पहिचान लोप हुँदै जान थाले पछि धिमालहरु पछिल्लो समय संस्कार सँस्कृति संरक्षणमा जुट्न थालेका छन् । देशभर रहेका धिमालहरुको उत्पति स्थलको रुपमा मानिदै आइएको मोरङ्गको लेटाङ्ग नगरपालिका वडा नं. १ धिमाल डाँडामा रहेको ग्रामथानमा बृहत पूजाआजा सहित जात्री मेला थालिएको धिमाल जातिका राष्ट्रिय पूजारी खड्ग धिमालले बताउनु भयो । वैशाख २ गते साे स्थानमा मेला लगाए पछि मात्र अन्य स्थानमा मेला लाउन पाउने चलन छ ।

पूर्वी नेपालमा झापाको दमक र मोरङ्गको ३ वटा पालिकाले धिमाल जातिलाई प्रथम नागरिकरुपमा घोषणा गरेको छ । धिमालहरुको उध्गम थलोको रुपमा राजारानी क्षेत्रको धिमाल डाँडामा वैशाख २ गते पुजापाठ गरे पछि मात्र अन्य तिर जात्रि मेला लगाउन पाउने चलन रहेको दमक नगरपालिका वडा नं. ३ बस्ने माझी समूहका केन्द्रिय अध्यक्ष जयबहादुर धिमालले बताउनु भयो ।

पुराना चलन र धिमाल जातिले संस्कार सँस्कृति संरक्षणमा देशभर रहेको १ सय ८ वटा धिमाल गाऊँमा गाउँ माझी र ग्रामथान राख्ने चलनलाई पछिल्लो समय जोड दिन थालिएको छ । नयाँ पुस्ताले भाषाहरु केही विर्सन्दै गए पनि संस्कृति संरक्षणमा भने चासो दिन थालेका छन् ।  पछिल्लाे समय धिमालहरू एकबद्ध भइ सँस्कृति संरक्षणमा लाग्न थालेकाे अगुवा धिमालले बताएका छन् । संघीयता कार्यान्वयनसँगै लोपोन्मुख जाति र उनीहरुको पहिचान संरक्षणमा राज्यले समेत चासो दिन थालेको छ । लोपान्मुख धिमाल जातिको संस्कार संरक्षण र पुस्तान्तरणमा यस्ता कार्याक्रमले टेवा पुग्ने उनीहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज १० संक्रमित, २६ निको
Next post महानगर र उपमहानगरपालिकामा टुङ्गाे लाग्याे पाँच दलीय गठबन्धनकाे सीट