१३ वैशाख २०७९, सारासन्देश समाचार
झापाको दमकमा प्रमुख पदमा १ जना महिला सहित जिल्लामै सवै भन्दा धेरै १७ जनाको उम्मेद्वारी परेको छ । यस्तै उपप्रमुखमा ८ महिला सहित ११ जनाको उम्मेद्वारी परेको छ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर भएकाले निक्कै महत्वका साथ हेरिएको दमक नगरपालिकामा नेकपा एमालेको तर्फबाट यस अघि उपप्रमुख भईसक्नु भएकी नेकपा एमालेका केन्द्रिय सदस्य गीता कुमारी अधिकारीले मनोनयन दर्ता गर्नु भएको छ ।
यस्तै अधिकारीको प्रतिद्वन्द्वीको रुपमआ गठबन्धनका दुई दलसँग तालमेल गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश नम्बर १ का अध्यक्ष राम थापाले मनोनयन दर्ता गर्नु भएको छ । नेपाली काँग्रेश र नेकपा माओवादी केन्द्रसँगको तालमेलमा राप्रपाले २ वडा र प्रमुख पद लिएको छ । यस्तै गठबन्धनको काँग्रेशले उपप्रमुख सहित ४ वटा वडा लिएको छ भने माओवादी केन्द्रले ४ वडामा आफ्नो उम्मेद्वारी दर्ता गरेको छ ।
जिल्लाको १५ वटै पालिकामा शान्ति पूर्वक उम्मेद्वारी राती ९ बजेसम्म लगाएर भए पनि दर्ता भइसकेको जिल्ला निर्वाचान कार्यालय झापाले जानकारी दिएको छ । झापामा जम्मा १५ वटा पालिकामा प्रमुख वा अध्यक्षमा १ सय ३० जनाले उम्मेदवारी दर्ता गरेका छन् भने उपप्रमुख तथा उपाध्यक्षमा १ सय ७ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । जिल्लामा जम्मा २ हजार ९ सय ९ जनाको उम्मेद्वारी दर्ता भएको जिल्ला निर्वाचन कार्यालय झापाका सूचना अधिकारी प्रेम न्यौपानेले जानकारी दिनु भएको छ ।
