झापामा रोकिएन मुख्य दलहरुबाटै आचारसंहिता उल्लघंन (फाेटाे फिचर सहित)

पत्रकारले समेत संहिता उल्लघंन गरेको उजुरी

१७ बैशाख २०७९/डिकेश लामा

झापामा निर्वाचन आचार संहिता उल्लंघन तिव्ररुपमा बढ्न थालेको छ । मुख्य राजनैतिक दलहरुले नै चुनाव प्रचार प्रसार गर्न गाउँ देखि बजारका चोकमा झण्डा सहितको र्याली र जुलुस मात्र नभएर सामाजिक संजालको समेत व्यापक प्रयोग गर्न थालेका छन् । झापामा निर्वाचन आचार संहिता पूर्णरुपमा पालना गर्ने प्रतिवद्धता जनाएका मुख्य राजनैतिक दलहरुले नै आचारसंहिता विपरित निर्वाचनका गतिविधिलाई तिव्रता दिन थालेका छन् । निर्वाचन आचार संहिता विपरितको गतिविधिहरु बढ्न थालेको गुनासो आउन थाले पछि कडाई गर्न सुरक्षाकर्मी नै परिचालन गर्ने योजना बनाइएको झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताउनु भयो । तर यता शहर देखि गाऊँसम्म ठूलो आवाजमा माइक लगाएर झण्डा लगाएर ठूलो संख्यामा सवारी साधान सहित चुनावी प्रसार गर्ने कार्य भने रोकिएको छैन ।


यस्तै जिल्लामा केही संचारकर्मीहरुबाटै आचार संहिताको पालना नगरेको पाइएको छ । केही संचारकर्मीले एक पक्षीय समाचार लेख्ने र विपक्षीलाई नभएृको आरोप समेत लगाएर समाचार लेखेको गुनासो नेपाल पत्रकार महासंघमा उजुरी समेत आउन थालेको महासंघ झापा शाखाले जानकारी दिएको छ । उजुरीहरु आउन थाले पछि आचारसंहिता सम्बन्धी जिल्ला शाखाका उपाध्यक्ष केशव भट्टराईको संयोजन ७ सदस्यीय अनुगमन समिति समेत गठन भई त्यस्ता विवरणहरु संकलन गर्ने कार्य थालिएको अध्यक्ष एकराज गिरीले बताउनु भयो । आचार संहिता उल्लघंन गर्ने संचार संस्था र पत्रकारलाई कानुन अनुसारको कार्वाही र त्यसको विवरण समेत सार्वजनिक गर्ने महासंघले जानकारी दिएको छ ।

निर्वाचन आचार संहिता २०७८ को परिच्छेद ४ मा स्थानीय प्रसाशनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, वैठक तथा भेला गर्न नहुने र गर्नु परे कम्तिमा ७२ घण्टा अगावै प्रशासन तथा प्रहरीलाई जानकारी दिएको हुनु पर्नेट । तर अधिकांश राजनैतिक दलले आचारसंहिताको उल्लंघन गर्न थालेकोले तत्काल रोक्नलाई पहल थालिने जिल्ला निर्वाचन कार्यलाय झापााका प्रमुख तुलसी नेपालले बताउनु भयो । संहिता उल्लघंनको गुनासो र उजुरीहरु आउन थालेकोले त्यस प्रति आफूहरु सक्रीय भएर लागेको उहाँले बताउनु भयो । तर उम्मेद्वारले आचारसंहिता विपरित सामाजिक संजालको पनि व्यापक प्रयोग हुन थालेकोले यसको समेत रोकथाम गर्न संजाल संचालकसँग आयोगले नै आवश्यक पहल गर्न थालिएको बताइएको छ ।

चुनावी प्रचार प्रसारमा माइक र सवारी साधानमा झण्डाको प्रयोगसँगै सामाजिक संजालको प्रयोग पनि त्यतिकै बढ्दै गइरहेको छ । यस पटकको निर्वाचनमा आचार संहिताले झण्डा तथा चुनाव चिन्ह अंकित कुनै पनि सामाग्री र त्यस्ता चुनावी गतिविधिलाई सामाजिक संजाल मार्फत प्रचारप्रसारमा रोक गरिएको निर्वाचन आयोगले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ५ संक्रमित जम्मा सक्रीय संख्या अव २३० मात्र
Next post झापामा १२१ स्वतन्त्र उम्मेद्वारलाइ एक दर्जन चुनाव चिन्ह (हेर्नुहाेस् विवरण तालिका सहित)