बाढीको जोखिम रोक्न मागः गौरादहका दक्षिणी क्षेत्रका बस्ती जोखिममा
१३ असार २०७९/डिकेश लामा
केही दिन यता परेको बर्षाले रतुवा खोलामा आएको बाढीका कारण झापाको गौरादह नगरपालिका वडा नं. ६ का केही बस्तीमा खोला गाऊँ पस्ने खतरा बढेको छ । नगरका ३ वटा क्षेत्रमा कटान शुरु भए पनि तेलियाडाँगी बस्ती भने उच्च जोखिम रहेकाले तत्काल बाँध निर्माण गर्न स्थानीय बासिन्दाले माग गरेका छन् । गौरादह नगरपालिका वडा नं. ६ तेलियाडाँगीकी साहुनी देवी शर्मा रातभरी सुत्नु हुन्न । झन् आकाश कालो भयो भने त उहाँ जस्तै सिंगो बस्तीका ८० घर परिवार नै रातभर जागै बस्छन् । कतिखेर बाढी पसेर गाऊँ बगाउने हो भन्ने उहीहरुमा चिन्ता बढेको छ । बस्ती उत्तर क्षेत्रबाट बाढी पस्ने खतरा बढे पछि तेलियाडाँगी, दामुनबारी, कोहबरा लगायतका केही बस्ती जोखिममा परेका छन् ।
विगत बर्षमा बग्ने स्थान छाडेर झण्डै ५ मिटर कटान गरेर खोला पूर्व आई सकेपछि यस अघि लगाएको बाँध समेत फुट्न थालेको छ । केही दिन अघि आएको बाढी गाऊँ तिर सोझिए पछि जोखिम बढेको सो वडाका अध्यक्ष तोयानाथ प्रसाईंले बताउनु भयो । प्रसाईका अनुसार नगरमा सवैभन्दा धेरै भूभाग रतुवाखोला जोडिएको आफ्नो वडाको जोखिम कम गर्न नगरसभामा समेत कुरा राखेर सवैतिरबाट सहयोग जुटाउने प्रयास थालिएको उहाँले बताउनु भयो ।
यस बर्ष झापामा ठेक्का लागेका कतिपय योजनाको बजेट निकासा नहुँदा निर्माण कार्य रोकिएकाले धेरै स्थानमा खोला तथा नदिको जोखिम बढेको छ । खोलाको जोखिम बढ्न थाले पछि बस्ती बचाउँन आफूहरुले सर्भे गरेर तत्काल न्यूनिकरणको उपाय गरिने इन्जिनियर गोपाल भण्डारीले बताउनु भयो । भण्डारीका अनुसार तत्काल अस्थायी उपाय अवलम्बन गरेर रोकथाम गर्न जिल्लामा नदि नियन्त्रणमा काम गर्दै आएको संस्था जनताको तटबन्ध कार्याक्रमबाट १० हजार थान वोरा ल्याइ सकेकाले रोक्ने प्रयास थालिने बताउनु भयो ।
यस्तै पालिकाको अन्य २ स्थानमा पनि जोखिम रहेको छ । पछिल्ल्लो बाढीले बस्ती जोखिममा परे पछि अनुगमन गरेर त्यस क्षेत्रमा रोकथामका उपाय गर्ने तयारी थालिएको नगरपालिकाका प्रशासकीय अधिकृत राजेन्द्र भट्टराईले बताउनु भयो । बर्षातको जोखिम रोक्न सके हिउँदमा संघ तथा प्रदेश सरकारको सहयोगमा स्थानी बाँध निर्माण गर्न पहल गरिने उहाँले बताउनु भयो । झापामा यस बर्ष विगत बर्ष भन्दा फरक र नयाँ क्षेत्रमा बर्षातको शुरुवातमै खोला पस्न थालेको छ । बाढीले घर परिवार नै विस्थापित हुने गरी बढेको जोखिम क्षेत्रमा तत्काल रोकथामका लागि काम थाल्न बाढी प्रभावित क्षेत्रका बासिन्दाले माग गरेका छन् ।