झापामा ३ सय हाराहारी घर परिवार विस्थापितः केही बस्ती बाढीकाे उच्च जोखिममा (फोटो फिचर सहित)
१४ असार २०७९/डिकेश लामा
झापामा बाढीका कारण झण्डै ३ सय घर परिवार विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार जिल्लाका विभिन्न भूभागमा डुवान तथा कटानमा परेका २ सय ७७ परिवारहरु विस्थापित बनेका हुन् ।
यस्तै गौरादह नगरपालिका वडा नं. ६ तेलियाडाँगी बस्तीका टापुमा परिणत भएको छ । रतुवा खोलाको बाढी बस्ती पूर्व तर्फबाट पसेप पछि झण्डै १ सय घर परिवार बाढीकोबीच भागमा परेका छन् । खोलामा बाढी धेरै भएकाले बस्तीका मानिसहरु खोलाबीचमा समस्यामा परेको सो वडाका अध्यक्ष तोयानाथ प्रसाईंले जानकारी दिनु भयो । बाढीका कारण टापुमा परिणत भएको बस्ती र अन्य गाऊँबीच सम्पर्क हुन समस्या भएको छ । रतुवाको बाढीले गौरादह नगरपालिकाका दामुना बजार क्षेत्रको सुकुम्बासी बस्ती समेत डुवानमा परेको छ ।
जिल्लामा विस्थापित बनेकाहरुलाई आफन्त, छिमेकी, विधालय तथा अन्य बजारका टहराहरुमा व्यवस्थापन गरिएको छ । जिल्लामा हालसम्म मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । जिल्ला रेडक्रस सोसाइटी झापाले दिएको जानकारी अनुसार जिल्लामा ७ सय ठ२ जनासंख्या घर छाडेर बाहिर बस्नु परेको छ ।
जिल्लामा मुख्य गरी गौरीगंज, गौरादह, शिवसताक्षी, झापा लगायतका पालिकामा भने धेरै क्षेत्र डुवान र कटानमा परेका छन् । कतिपय स्थानमा प्रमुख जिल्ला अधिकारी सहितको प्रहरी टोलीले उदार गरी सुरक्षित स्थानमा स्थानन्तरण गरिएको छ ।
जिल्लामा कमलको खयरबारी, गौरादहको तेलियाडाँगी, दामुना बजार, दमक वडा नं. ७ को रेडक्रस भवन सहितको रमाइलो बस्ती, गौरीगंजको चउरी बस्ती उच्च जोखिममा रहेका छन् । केही दिन पानी लगातार परेमा जोखिममा रहेका बस्तीमा बाढीले ठूलो धनजनको क्षति हुन सक्ने स्थानीय बाढी प्रभावित क्षेत्रका बासिन्दाले बताएका छन् ।