हात्तीको आक्रमणबाट झापा २ जनाको मृत्यु
१७ भदौ २०७९/सारासन्देश समाचार
झापामा ३ दिन भित्र जंगली हात्तीको आक्रमणबाट २ जनाको मृत्यु भएको छ । आज साँझ पाउने ६ बजे तिर मेचीनगर नगरपालिका वडा नं. ९ को थोप्लेविरान सामुदायिक बनको भित्री सडकमा एक महिलालाई हात्तीले आक्रमण गरेको छ । मे ७ प २०४६ नम्बरको स्कुटीमा सवार बुद्धशान्ति गाउँपालिका वडा नं. ५ बस्ने ३४ बर्षीय सम्झना श्रेष्ठको हात्तीको आक्रमणबाट मृत्यु भएको छ । हात्तीले आक्रमण गरी घाइते बनेकी श्रेष्ठलाई उपचारको क्रममा अस्पताल लाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
२ दिन अघि मात्रै बाह्रदशी गाउँपालिका वडा नं. १ का ८० बर्षीय देवीबहादुर अधिकारीको हात्तीकै आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरीका कार्यालय झापाका प्रहरी नायब उपरिक्षक बसन्त पाठकले जानकारी दिनु भएको छ । झापामा एक दशक यता ५३ जना मानिस र १५ वटा हात्तीको मृत्यु भइसकेको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।