२३ असाेज २०७९,काठमाडौं– अनुमान गरेकाे भन्दा लामाे समय मनसुन परेकाले नेपालमा मनसुनकाे अन्त्य तिर अाएकाे बाढी तथा पहिराेमा परी नेपालमा एक साताभित्र ३० जनाकाे मृत्यु भएकाे छ । गत बुधबारदेखि सुरु भएको वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ ।
बाढीपहिरोमा परी काठमाडौँमा तीनजनाको मृत्यु भएको छ । यस्तै पहिरोले घर पुरिँदा जुम्ला र प्युठानमा १३ जनाको मृत्यु भएको छ । मकवानपुरमा पहिरोमा परी चारजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । धादिङ र नुवाकोटमा पहिरोले घर बगाउँदा दुईजनाको मृत्यु भएको छ । यस्तै झापा र रौतहटमा बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार डोल्पा र सल्यानमा दुई जनाको मृत्यु भएको छ । त्यस्तै बाढीपहिरोबाट कपिलवस्तुमा एक र दाङमा दुईजनाको मृत्यु भएको छ । पहिरोमा परी गुल्मी र पाल्पामा एक–एक जनाको मृत्यु भएको छ ।
गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार पछिल्लो चार दिनमा बाढीपहिरोमा परी तीन जना बेपत्ता भएका छन् । वर्षाका कारण आएको बाढीपहिरोले देशका विभिन्न सडक तथा राजमार्ग अवरुद्ध हुँदा आवतजावतमा समस्या आएको छ । वर्षाका कारण बाढीपहिरोले पुर्याएको भौतिक क्षतिको विवरण सङ्कलन भइरहेको गृह मन्त्रालयले जनाएको छ । मनसुन नेपालबाट अझै एक साता पछि मात्र बाहिरिने जल तथा माैषम विज्ञान विभागले जनाएकाे छ ।
