ओलीको भिडन्त पुनः अधिकारीसँगैः जिल्लामा क–कसको कहाँबाट हुँदैछ भिडन्त ? (फाेटाे फिचर)

२३ असोज २०७९/डिकेश लामा
४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुरानै उम्मेदवारसँग प्रतिस्पर्धा गर्ने भएका छन् । झापा– ५ मा आफै उपस्थित भएर मनोनयन दर्ता गर्नु भएको ओलीले ०७४ कै प्रतिस्पर्धी पाउने निश्चित भएको छ ।

सत्तागठबन्धनको तर्फबाट कांग्रेसका खगेन्द्र अधिकारीले मनोनयन दर्ता गर्नु भएको छ । ओली र अधिकारीले ०७४ मा यही क्षेत्रमा प्रतिस्पर्धा गरेका थिए । त्यसवेला ओली माओवादीसहितको गठबन्धनबाट उम्मेदवार बनेका थिए भने अधिकारी कांग्रेसबाट उम्मेद्वार बन्नु भएको थियो । यसपटक भने अधिकारी कांग्रेस, माओवादीसहितको सत्तागठबन्धनको तर्फबाट उम्मेदवार बन्नु भएको छ ।

०७४ मा वाम गठबन्धनको तर्फबाट उम्मेदवार बन्दै ओलीले ५७ हजार १ सय ३९ मत पाएका प्राप्त गर्नु भएको थियो भने अधिकारीले २८ हजार २ सय ९७ मत प्राप्त गर्नु भएको थियो । यो क्षेत्रमा ओलीका प्रतिस्पर्धी बारम्बार परिवर्तन हुँदै आएका छन् । ०४८ देखि ओली यही क्षेत्रमा निरन्तर निर्वाचन लड्दै आउनु भएको छ । २०४८ देखि २०५६ सम्म यो क्षेत्र झापा निर्वाचन क्षेत्र नम्बर ६ मा थियो । ०६४ र ०७४ मा यो क्षेत्र झापा क्षेत्र नम्बर ७ भयो । २०७४ यता भने यो क्षेत्र झापा क्षेत्र नम्बर ५ भएको छ । ०४८ यता ओलीले ०६४ मा मात्र यहाँ पराजित भएका छन् । ओलीलाई तत्कालीन माओवादीका विश्वदीप लिङ्देन हाल कांग्रेसका नेताले पराजित गरेका थिए ।

झापामा कुन निर्वाचन क्षेत्रबाट को को उम्मेद्वारी?

झापामा सत्तारूढ गठबन्धनमा रहेको कांग्रेसले प्रतिनिधिसभाअन्तर्गतका चारवटा निर्वाचन क्षेत्र पाएको छ । माओवादीले क्षेत्र नम्बर २ पाएको छ । झापामा कांग्रेसले क्षेत्र नम्बर १, ३, ४ र ५ पाएको छ । क्षेत्र नम्बर १ मा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले उम्मेदवारी दर्ता गर्नु भएको छ । यो क्षेत्रमा शर्मा २०७० र २०७४ मा पराजित हुनु भएको थियो ।

२०७० मा एमालेका रविन कोइरालासँग पराजित भएका शर्मा ०७४ मा वाम गठबन्धनका तर्फबाट माओवादीका राम कार्कीसँग पराजित हुनु भएको थियो । यसपटक शर्माले एमालेबाट पूर्वकानुनमन्त्री तथा पूर्वमहान्यायाधिवक्ता अग्नि खरेलसँग प्रतिस्पर्धा गर्नु पर्ने भएको छ ।

झापा क्षेत्र नम्बर ३ मा कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले वारेसनामा मार्फत उम्मेदवारी दर्ता गर्नु भएको छ । उहाँले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग प्रतिस्पर्धा गर्नु पर्ने भएको छ । लिङदेनले एमालेका नेताको समर्थन र प्रस्तावमा आज पहिलो चरणमै उम्मेदारी दर्ता गर्नु भएको छ । २०७४ मा लिङ्देनले सिटौलालाई पराजित गर्नु भएको थियो । राप्रपालाई त्यसवेला एमाले–माओवादी गठबन्धनको सहयोग रहेको थियो ।

यस्तै झापाको क्षेत्र नम्बर २ मा एमालेबाट देवराज घिमिरेले मनोनयन दर्ता गरेका छन् । यस्तै उहाँको प्रतिष्पर्धीको रुपमा गठबन्धनबाट हरि रानाले मनोनयन दर्ता गर्नु भएको छ । राना एमाले पार्टी परित्याग गरी माओवादीको चुनाव चिन्हबाट निर्वाचन लड्ने गरी मैदानमा उत्रनु भएको छ । उहाँ यस अघि अर्जुनधारा नगरपालिकाका प्रमुख पदमा विजयी हुनु भएकाे थियाे ।
यसैगरी क्षेत्र नं. ४ मा एमालेका एलपी साँवाले मनोनयन गर्नु भएको छ भने उहाँको प्रतिद्वन्द्वीको रुपमा गठबन्धनका तर्फबाट नेपाली काँग्रेशका जिल्ला सभापति देऊमान थेवेले उम्मेदवारी दर्ता गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post Приложения MostBet для Android, IOs и Window
Next post स्वतन्त्र उम्मेद्वारमा मोह बढ्दैः झापामा ५६ जनाको उम्मेदवारी