चियाले मुल्य नपाउँदा समस्याः झण्डै २ अर्व मुल्यको चिया गोदामै थन्कियो
७ कार्तिक २०७९/डिकेश लामा
नेपालमै सवै भन्दा धेरै चिया उत्पादन हुने झापा जिल्लामा चियाले उचित बजार नपाउँदा व्यवसायीहरु समस्यामा परेका छन् । बजारमा चिया विक्री नुहँदा यतिखेर ४० वटा कारखानामा झण्डै २ अर्व मुल्यको चिया गोदाममै थन्किएका छन् । २ बर्ष अघि प्रति केजी ४ सय रुपयाँसम्म विक्री भएको चियाको मुल्य अझै बृद्धि हुन सकेको छैन । लामो कोरोना कहर पछि खुलेका फ्याक्ट्रीहरुको चिया आधा मुल्यमा पनि विक्री नभएपछि ठूलो परिमाणमा गोदाममै थन्किएको शुभ चिया किसान सहकारी संस्थाका अध्यक्ष शम्सेर बहादुर खड्काले बताउनु भयो । खड्का अनुसार आफूहरुले नोक्सान व्यहोरेर भए पनि केही चिया विक्री गरेको बताउनु भयो । तर जिल्लामा ठूल्ठुला चिया प्रशोधन कारखानामा भने धेरै चिया थन्किएर रहेको छ ।
केही बर्ष देखि सीटीसी चियाको बजारमा समस्या हुन थाले पछि झापामा पनि अर्थोडक्स चिया उत्पादन गर्न थालिएको छ । आगामी दिनमा विश्व बजारलाई लक्षित गरी गुणस्तरीय अर्थोडक्स चिया उत्पादन नगरे चिया व्यवसायी पलायन हुने स्थिति आएको गुणस्तरीय चिया उत्पादन गर्दै आएको नेपाल बहुउदेश्य सहकारी संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले बताउनु भयो । झापामा नेपालमै सवैभन्दा धेरै झण्डै साढे ७ हजार हेक्टर क्षेत्रमा १७ हजार मेट्रिक टन चिया उत्पादन हुँदै आएको छ । तर पछिल्लो समय चियाले रुपयाँ साट्न नसक्दा उचित रेखदेखको अभावमा बगानमै समस्या आउन थालेको छ ।
पूर्वी नेपालको झापा र इलाममा उत्पादन भएको चियाको मुख्य बजार नै भारत हो । गएको बर्ष देखि भारतमा चिया उत्पादन बृद्धि भएसँगै नेपाली चियाले बजार नपाउँदा झापामा झण्डै कुल उत्पादनको ४० प्रतिशत चिया गोदाममै थन्किएको नेपाल चिया तथा कफी विकास बोर्ड झापाका प्रमुख इन्द्रप्रसाद अधिकारीले बताउनु भयो । अधिकारीका अनुसार झण्डै ५० लाख केजी सीटीसी र २५ लाख जति अर्थोडक्स चिया गोदाममा रहेका छन् । जुन झण्डै २ अर्व मुल्य बराबरको चिया हो । झापा नेपालमै सवै भन्दा चिया रोपिने र उत्पादन हुँदै आएको भए पछि पछिल्लो समय क्षेत्रफल र उत्पादन समेत घट्दै गएको छ ।