धानको समर्थन मूल्य तोकियोः गत बर्ष भन्दा २ सय रूपयाँ बृद्दि

२३ कार्तिक २०७९,काठमाडौं- सरकारले धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । मन्त्रिपरिषद्को यही कात्तिक १६ गतेको निर्णयानुसार चालु आर्थिक वर्ष २०७९/०८० का लागि मोटा धान प्रतिक्विन्टल २ हजार नौ सय ६७ र मध्यम धान प्रतिक्विन्टल रु तीन हजार एक सय २८ तोकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०७८/०७९ को तुलनामा चालु आर्थिक वर्षमा धान खरिदका लागि तोकिएको समर्थन मूल्य मोटा धानमा प्रतिक्विन्टल रु २ सय १५ र मध्यम धानमा प्रतिक्विन्टल २ सय २६ ले बढी हो । गत आर्थिक वर्षमा सरकारले मोटा धानका लागि प्रतिक्विन्टल २ हजार सात सय ५२ र मध्यम धानका लागि २ हजार नौ सय दुई तोकेको थियो ।

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले न्यूनतम समर्थन मूल्यअनुसार धान खरिद गर्नेछ । चालु आर्थिक वर्षमा तीन लाख मेट्रिक टन धान खरिद गर्ने सरकारी लक्ष्य छ ।

त्यसैगरी, न्यूनतम समर्थन मूल्यमा कृषि सहकारीमार्फत धान खरिद गर्नका लागि सरकारले चालु आर्थिक वर्षका लागि रु ३३ करोड विनियोजन गरेको छ । यद्यपि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत कृषि सहकारीका लागि तोकिएको न्यूनतम समर्थन मूल्यमा धान खरिदका लागि भने यो व्यवस्था लागु हुनेछैन । हाल स्वीकृत कार्यविधिअनुसार तोकिएको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने कृषि सहकारीहरूलाई प्रतिक्विन्टल रु एक सय १२ खर्चसमेत उपलब्ध गराइने व्यवस्था रहेको छ । गत वर्ष यो कार्यक्रमअनुसार करिब नौ हजार मेट्रिक टन धान खरिद भएको कृषि मन्त्रालयले जनाएको छ । यस बर्ष अघिल्लाे बर्षकाे तुलनामा कार्यक्रम ढिलाे संचालन भएकाे किसानले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापाकाे एक नम्बरमा गठबन्धनका तर्फबाट प्रदेशसभा सदस्यमा जनजाति उम्मेद्वार
Next post भुकम्प अपडेटः ६ जनाको मृत्यु, ५ जना घाइते