झापामा यस बर्ष धानको क्षेत्रफलसँगै उत्पादन घट्यो

१६ मंसीर २०७९/बालदिवश तामाङ

नेपालको सवैभन्दा धेरै धान खेती हुने झापा जिल्लामा यो बर्ष धान उत्पादन घटेको छ । उत्पादकत्व बृद्धि भए पनि धान रोपाईको क्षेत्रफल घटेसँगै अघिल्लो बर्षको तुलनामा उत्पादन घटेको हो । अघिल्लो बर्ष झापामा ८७ हजार ५ सय हेक्टर क्षेत्रफलमा ४ लाख २३ हजार ९ सय ६६ मेट्रिक टन धान उत्पादन भएको थियो । तर यो बर्ष ८ सय ७५ हेक्टर क्षेत्रफल धान खेती घटेको छ । जसका कारण झण्डै ४ सय मेट्रिक टन धान उत्पादनमा गिरावट आएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख सागर विष्टले बताउनु भयो । यस बर्ष उत्पादकत्व बृद्धि भए पनि रोपाईको क्षेत्रफल घटेकाले उत्पादन समेत घटेको विष्टले बताउनु भयो ।

जिल्लामा यस अघिका २ बर्ष प्रति हेक्टर ४ दशमलव ८५ मेट्रिक टन उत्पादकत्व रहेको थियो । जुन यस बर्ष बढेर ४ दशमलव ८९ प्रतिशत पुगेको छ । तर अगुवा धान भने वेमौषमी बर्षाले क्षति पुर्याएको गौरादह क्षेत्रका किसानले बताएका छन् । गौरादह वडा नं. ७ का इच्छाराम सापकोटाका अनुसार अगुवा धानमा भने धेरै क्षति भएको छ । अघिल्लो बर्ष कार्तिक महिनाको पहिलो साता आएको वेमौषमी बर्षाले गरेको क्षतिको समेत कुनै पनि राहत पाउन नसकिरहेको वेला यस बर्षको अगुवा धानमा समेत क्षति आएकाले किसानहरु मारमा परेको बताउनु भयो ।

झापामा ५ बर्ष देखि धान सुपरजोन कार्याक्रम कार्यान्वयनसँगै धान खेतीमा आधुनिकीकरण हुन थालेको छ । तर खेती योग्य जमिनलाई प्लटिङ गरेर विक्री गर्नेक्रम बढेकाले खेतीको क्षेत्रफल भने घट्दै गएको किसानले बताएका छन् । झापामा यस बर्ष वेलैमा बर्षा भएकाले धान उपादकत्व बृद्धि भएको छ । तर अघिल्लो बर्षको तुलनामा झण्डै एक हजार हेक्टर क्षेत्रफलमा धान खेती नभएकाले जम्मा उत्पादनमा भने गिरावट आएको कृषि ज्ञान केन्द्र झापाले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापा ४ का सांसद साँवाले अधुरा योजनामा जोड दिने
Next post झापामा ड्राइगन खेतीमा यूवाको आकार्षण (फाेटाे फिचर)