६ महिनाको व्यापार घाटा ८ खर्ब २५ अर्ब

१० फाल्गुण २०७९,काठमाडौँ- चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षा अवधिमा नेपालको कूल व्यापार घाटा रू आठ खर्ब २५ अर्ब ७३ करोड नाँघेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार माघ मसान्तसम्ममा नेपालले कूल रू १० खर्ब १२ अर्ब ५९ करोड ७६ लाख बराबरको वैदेशिक व्यापार गरेको छ । यसमध्ये रू नौ खर्ब १९ अर्ब १६ करोड ५३ लाख बराबरको वस्तु तथा सेवा आयात हुँदा रू ९३ अर्ब ४३ करोड २३ लाख बराबरको मात्रै निर्यात भएको देखिएको हो ।
यो अवधिमा नेपालले गरेको कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ९० दशमलव ७७ प्रतिशत र निर्यातको हिस्सा नौ दशमलव २३ प्रतिशत छ । गत माघ मसान्तसम्म भएको वैदेशिक व्यापारबाट रू दुई खर्ब १२ अर्ब १२ करोड ७४ लाख बराबर भन्सार राजस्व उठेको विभागको तथ्याङ्कबाट देखिन्छ । गत आर्थिक वर्ष २०७८/७९ को अर्धवार्षिक समीक्षा अवधिमा नेपालले गरेको कूल वैदेशिक व्यापारको तुलनामा यसवर्षको सोही अवधिमा गरेको व्यापार २० दशमलव ८४ प्रतिशतले घटेको छ ।

त्यस्तै गतवर्षको तुलनामा आयात १९ दशमलव ९० प्रतिशतले घटेको छ भने निर्यात २९ प्रतिशतले घटेको विभागले जनाएको छ । नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार भारत हो । माघ मसान्तसम्ममा नेपालले भारतबाट रू पाँच खर्ब ७० अर्ब ९६ करोड ९७ लाख बराबरको सामान आयात गरेको छ । यही अवधिमा नेपालबाट भारतमा भएको निर्यात भने रू ६६ अर्ब २२ करोड ६५ लाख बराबर मात्रै छ । छ महिना अवधिमा चीनबाट रू एक खर्ब २५ अर्ब पाँच करोड २४ लाख बराबरको आयात गरेको छ भने रू ४२ करोड २६ लाख बराबरको मात्रै निर्यात गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापामा जंगली जनावरबाट किसान समस्यामा (फाेटाे फिचर)
Next post अवैध रूपमा भारत लाँदै गरेको बाख्रा,गाडी सहित २ जना नियन्त्रणमा