शान्ति सम्झौता पक्षधर एकजुट हुन माओवादी पार्टीको अपील
२४ फाल्गुण २०७९, झापा– नेकपा माओवादी केन्द्र झापाले पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध हत्या अभियोगसहितको मुद्धा दर्ता गराएकोमा आपत्ति जनाएको छ । पार्टीले एक विज्ञप्ति जारी गर्दै शान्ति सम्झौताविरुद्ध भएको यसखाले गतिविधिको प्रतिवाद गर्न चेतावनी समेत दिएको छ ।
माओवादी केन्द्र झापाका संयोजक राजु आचार्य (अग्नि) र सचिव मोहन टुडुद्वारा हस्ताक्षरित विज्ञप्तिमा १० वर्षे जनयुद्ध, २०६२ र ०६३ को आन्दोलन र त्यसको जगमा सम्पन्न भएको शान्ति सम्झौता विपरित भएकाे जनाएकाे छ । यस्तै अन्तरिम संविधान, पहिलो र दोस्रो पटक सम्पन्न संविधानका निर्वाचन तथा संविधानबाट निर्मित संघीयता, धर्म निरपेक्षता, समावेशी समानुपातिक र लोकतान्त्रिक गणतन्त्रकाे आधारभूत संरचनासहितको नेपालको संविधान र अग्रगामी उपलब्धिहरुविरुद्धको हर्कत भएकाे उल्लेख्य गरेकाे छ ।
झापा माओवादी पार्टीले बृहत शान्ति सम्झौता विरद्ध प्रतिकुल असर गर्ने कुनै पनि निर्णय अघि नबढाउन सर्वोच्च अदालतलाई सचेत पनि गराएको छ । यसखाले गतिविधिले शान्ति प्रक्रियामा गम्भीर चुनौती सिर्जना हुने भएकाले शान्ति सम्झौता पक्षधर पार्टीहरु र आमजनता एकजुट हुन आह्वान गरेको छ । यस्तै दमक नगरपालिका समितिले समेत आजै प्रेस विज्ञप्ती जारी गर्दै यस्ता हर्कत विरूद्द प्रतिकार समेत गर्ने चेतावनी दिएकाे छ । अध्यक्ष कुलबहादुर बस्नेत (रवि) र इन्चार्ज वेदु गाैतमले हस्ताक्षर गरेकाे विज्ञप्तीमा हाल प्राप्ती उपलव्धीलाइ स्थायित्व दिन परिवर्तनकारी पार्टी र शक्तिहरू एक हुन आव्हान समेत गरेकाे छ ।