आयल निगमले अब देखि स्वचालित प्रणालीबाट इन्धनकाे मूल्य लागू गर्नेः आज रातीबाट मुल्य घट्ने

३१ असार २०८०, काठमाडौं– नेपाल आयल निगम लिमिटेडले इन्धनमा स्वचालित प्रणालीबाट मूल्य लागू गर्ने भएको छ । निगमले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आज मध्यरातिबाट लागू हुने गरी स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको जनाएको हो । स्वचालित प्रणालीमा निगमले परल मूल्यमा डिजेलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत नाफा राखेर मूल्य तोक्ने निगम सञ्चालक समितिका अध्यक्ष एवम् वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले जानकारी दिनुभएकाे छ । मरासिनीका अनुसार स्वचालित प्रणाली भएसँगै पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्याँसको मूल्य घटेको छ । मरासिनीले आइतबार मध्यरातीदेखि पेट्रोल लिटरमा ६ रुपैयाँ, डिजेल र मट्टीतेलमा समान ४-४ रुपैयाँ मूल्य घट्ने र ग्याँसमा प्रतिसिलिण्डर १० रुपैयाँ घट्ने जानकारी दिनुभयो । उहाँले स्वचालित मूल्य प्रणाली लागू भएपछि परल मूल्य बढ्दा बिक्री मूल्य पनि बढ्ने बताउनुभयो ।

त्यस्तै निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले निगमले भारतीय आयल कर्पोरेशनको सम्पूर्ण ऋण भुक्तानी गरिसकेको र सरकारको केहि ऋण तिर्न बाँकी रहेको बताउनुभयो । उहाँले अहिले भारतभन्दा नेपालमा पेट्रोलियम पदार्थको मूल्य कम नै रहेको जानकारी दिनुभयो । थानीले हवाई इन्धनमा भने स्वचालित प्रणाली लागू नहुने र सञ्चालक समितिबाटै मूल्य निर्धारण हुने बताउनुभयो । इण्डियन आयल कर्पोरेशनसंग नियमित रुपमा प्राप्त हुने नयाँ खरिद मूल्यका आधारमा सोहि दिन मूल्य समायोजन गर्ने व्यवस्था कार्यान्वयन हुने निगमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post च्याउ खेतीका लागि किसान आफै स्वदेशी विऊ उत्पादन गर्दैः बर्षेनी गर्मी बढ्न थाले पछि खेतीमा चुनौती (फाेटाे फिचर)
Next post स्वदेशी उत्पादनले रोक्यो ड्राइगन फलको आयातः झापामा मनग्ये उत्पादन हुन थाल्याे फल (फाेटाे फिचर)