१७ साउन २०८०, मोरङ– पूर्व सभामुख बाबुराम गौतमलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको कार्यभार दिंदै कोशी प्रदेशमा चार सदस्यीय मन्त्रीमण्डल गठन गरिएको छ । विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजना गरिएको शपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुख परशुराम खापुङले नवनियुक्त मुख्यमन्त्री उद्धव थापालाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको हो । यसैगरी प्रदेश प्रमुख खापुङले आर्थिक मामिला तथा योजना मन्त्रीमा बाबुराम गौतम, खानेपानी सिंचाई तथा उर्जा मन्त्रीमा प्रदीप सुनुवार र भौतिक पर्वाधार विकास मन्त्रीमा कमल प्रसाद जवेगुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भयो । संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थनमा साउन १६ गते नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।
शपथ ग्रहणपछि मुख्यमन्त्री उद्धव थापाले चाँडै विश्वासको मत लिने जानकारी दिंदै मन्त्रीमण्डललाई पूर्णता दिने बताउनु भयो । उहाँले अध्यादेशबाट आएको बजेटलाई प्रतिस्थापन विधेयक ल्याएर बजेट कार्यान्वयनको प्रक्रियामा लैजाने जानकारी दिनुभयो । उहाँले अधिवेशनबाट ल्याइएकाे बजेटलाइ चाँडै कार्न्वयन गरिने बताउनु भयाे ।
सभामुखबाट राजिनामा दिएर आर्थिक मामिला तथा योजना मन्त्री बन्नुभएका बाबुराम गौतमले पार्टीको निर्णयअनुसार आफु मन्त्रीमण्डलमा सहभागि भएको बताउनु भयो । उहाँले आफ्नो कार्य र गतिविधिले संसदीय मूल्यमान्यतामा कुनै हानी नोक्सानी नभएको जिकिर गर्नु भएकाे छ । उहाँले राजिनामा दिएका गाैतमले पुनः पार्टीले दिएकाे मन्त्रीकाे जिम्मेवारी सम्हालेकाे बताउनु भयाे ।
