रिहा गरियाे झाँक्रीलाईः राष्ट्रपतिको आलोचनामा कुनै पश्‍चात्ताप छैन

२९ माघ २०७७, काठमाडौँ — चौतर्फी विरोध भएपछि प्रहरीले नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई रिहा गरेको छ । राज्यविरुद्धको कसुरको आरोपमा पक्राउ परेकी झाँक्रीलाई प्रहरीले सामान्य सोधपुछपछि बिहीबार साँझ रिहा गरेको हो । पक्राउपछि उनलाई महानगरीय अपराध महाशाखा मिनभवनमा राखिएको थियो । प्रहरीले आफै पक्राउ पुर्जी जारी गर्दै झाँक्रीलाई शंखमूलस्थित उनको निवासबाटै नियन्त्रणमा लिएको थियो ।

प्रहरीले झाँक्रीसँग राष्ट्रपतिलाई लक्षित गरी गोरखामा दिएको अभिव्यक्तिबारे जानकारी लिएको छ । झाँकी पक्राउ विरोधमा विभिन्न क्षेत्रबाट चर्को विरोध र सरकारको आलोचना भएको छ ।

नेकपा केन्द्रीय सदस्य झाँक्रीले प्रहरी हिरासतबाट रिहाइपछि राष्ट्रपति विद्यादेवी भण्डारीका गतिविधिप्रति आफूले दिएका अभिव्यक्तिमा कुनै पश्चात्ताप नभएको बताउनु भएकाे छ ।अहिलेको लोकतन्त्रिक व्यवस्थाका लागि आफूहरू लडेको र आगामी दिनमा पनि लड्ने भन्दै झाँक्रीले भन्नुभयाे, ‘लोकतन्त्रको पक्षमा लडिरहेको मान्छे हो म । जसले संविधानको धज्जी उडाउँछ, विधिलाई मान्दैन त्यस्ता प्रवृत्तिको विरुद्ध आज पनि सडकमा छौं ।’

संवैधानिक राष्ट्रपति संस्थाप्रति आफ्नो सधैं सम्मान रहेको र त्यसमा जाने व्यक्तिहरूको आलोचना गर्दा कुनै पश्चात्ताप गर्न नहुने झाँक्रीले भन्नुभयाे । ‘संविधानले व्यवस्था गरिएको संवैधानिक पदहरूका प्रति हाम्रो जहिले पनि हाम्रो सम्मान छ । त्यहाँ रहने व्यक्तिहरूका क्रियाकलापका प्रति आलोचना भएको हो । त्यसमा रिग्रेट गर्नुपर्ने कुरा केही पनि छैन,’ उनले भनिन्, ‘राष्ट्रपति सम्माननीय संस्था हाम्रो आन्दोलनद्वारा स्थापित गरिएको राष्ट्रको सर्वोच्च संस्था हो । संवैधानिक राष्ट्रपतिप्रति जहिले पनि सम्मान छ ।’

संवैधानिक पदहरूमा पुग्ने पात्रहरूका गतिविधिमाथि प्रश्न गर्नुपर्ने उनको भनाइ छ । ‘राष्ट्रपति संस्था हाम्रो आन्दोलन, लडाइँले स्थापित गरेको हो । तर, त्यहाँ पुग्ने पात्रहरूले जे प्रवृत्ति देखाउँछन्, संविधान र कानुनको धज्जी उडाउँछन् तिनका प्रतिको लडाइँमा सडकमा बाँकी छ ।’ उहाँले पत्रकारसँगकाे कुराकानीमा बताउनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झाँक्रीकाे पक्राउकाे बिराेधमा उच्च नेतृत्वबाट घाेर भर्त्सना
Next post नेपालमा पछिल्लाे २४ घण्टामा १११ जना निकाे, ८१ जना संक्रमित