कुमाल जातिको पुख्र्यौली पेशा लोप हुँदैः प्लाष्टिक र विधुतीय सामानले विस्थापित हुँदै पराम्परागत सामाग्री(फाेटाे फिचर)

२९ असोज २०८०/बालदिवश तामाङ

खासगरी चाडबाडमा अधिक प्रयोग हुने माटाका सामानहरुको प्रयोग घट्दै गए पछि कुमाल जातिको पेशा समेत संकटमा पर्दै गएको छ । यस अघि बर्षै भरी भ्याइ नभ्याइ काम गर्ने कुमाल जातिहरु यतिखेर चाडबाडमा मात्र पुख्र्यौली पेशा माटोका सामानहरु बनाउने गर्दछन् । झापाको दमक वडा नं. ३ कुमाल डाँडाका पवन पण्डित कुमाल हालै मात्र मलेशियाबाट घर फर्केर आउनु भएको हो । छुटिमा घर फर्केर आउनु भएको पवनले यतिखेर धमाधम माटोका सामाग्रीहरु बनाउन थाल्नु भएको छ । बर्ष भरीमा बल्ल दशैं तिहार र छटमा माटाका सामान विक्री हुने भएकाले पुर्खाको शीप र पेशालाई प्रयोग गरेको उहाँले बताउनु भयो ।

१० बर्ष देखि वैदेशिक रोजगारमा रहनु भएका पवन जस्तै अहिले कुमाल समूदायका युवा पुस्ताले पुख्र्यौली पेशा छाड्दै लगेका छन् । कोही विदेशमा छन् त कोही स्वदेशमै भएर पनि माटोको काम भने छाड्दै लगेका छन् । बजारमा आएका प्लाष्टिकका सामानसँग प्रतिष्पर्धा गर्न नसक्दा पुख्र्यौली पेशा लोप हुँदै गएको कुमाल समूदायकी अगुवा शकुन्तला कुमालले बताउनु भयो । कुमालका अनुसार माटोको कामले जिविकोपार्जनमा समस्या हुन थाले पछि अहिले आएर अन्य पेशा गर्न थालिएको छ । अहिले जेठी बुहारीलाई सिलाइ कटिङ तालिम दिएर त्यहि काम गर्न लगाएका उहाँले बताउनु भयो ।

त्यसो त संघीयता कार्यान्वयन पछि स्थानीय सरकारले समेत पुराना पेशा र शीपको संरक्षणमा चासो देखाएको छ । तर पेशा संरक्षण गर्न चाहिने आवश्यक कच्चा पदार्थको अभाव हुन थाले पछि पेशा नै संकटमा पर्दै गएको दमक वडा नं. ३ का सदस्य गजेन्द्र धिमालले बताउनु भयो । धिमालका अनुसार आफूहरुले यस अघि कुमाल जातिलाई माटोको शीप सम्बन्धी तालिम समेत दिइएको थियो । तर विस्तारै माटोको सामाग्री बनाउने कच्चा पदार्थ माटो, दाउरा लगायत उपलव्ध हुनै समस्या हुन थाले पछि पेशा संकटमा पर्दै गएको छ । अहिले पनि सामान बनाउने माटो कोशी पारीबाट गाडीमा ल्याउँदा एक गाडीको ५० हजार तिर्नु पर्छ । जसबाट बनाइएका सामानले त्यति मुल्य साट्ने भन्ने निश्चित नहुँदा धेरैले यो पेशा छाड्दै लगेको धिमाल जातिका अगुवाहरुले बताएका छन् ।

झापा जिल्लामा २ हजार ७ सय संख्यामा रहेका कुमाल जातिहरुको बसोवास दमक नगरपालिकामा सवै भन्दा धेरै झण्डै १ हजारको संख्यामा रहेका छन् । जिल्लामा छरिएर रहेका कुमाल जातिको पुख्र्यौली शीपले गुजारा चलाउनै समस्या हुन थाले पछि पेशा संकटमा पर्दै गएको उनीहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post अवैध काठ र ट्याक्ट्रर सहित १ जना पक्राउ
Next post विश्वकप छनोट खेलमा लाओसलाई हराउँदै नेपाल दोस्रो चरणमा