३० जेष्ठ २०८२/डिकेश लामा
नेपालमा रहेका अल्पसंख्यक सिमान्तकृत सन्थाल जातिहरु आफ्नो साँस्कृतिक पहिचान हराउने चिन्तामा छन् । खासगरी पूर्वी नेपालको झापा, मोरङ र सुनसरीमा बसोवास रहेको सन्थालको धर्म, भाषा, लिपी र सँस्कृतिको विकास हुन नसक्दा लोपोन्मुख अवस्थामा पुगेको हो ।
माेरङकाे उर्लाबारी नगरपालिका वडा नं. ८ काे कदम टाेल क्षेत्र जहाँ सन्थाल जातिकाे घना बसाेवास रहेकाे छ ।
कदमटाेलका महिलाहरू सन्थाल नृत्य गर्दै

सिमान्तकृत अल्पसंख्यक सन्थाल जातिहरु धेरै जसो आर्थिक, शैक्षिक र सामाजिकरुपमा कम्जोर अवस्थामा छन् । संघीयता पछि भाषा सँस्कृतिको विकासमा केही काम गर्दै आएको भए पनि उलेख्य प्रगति हुन नसकेको सन्थालको साँस्कृतिक विकासमा काम गर्दै आएको संस्था जाहेराथान माझी थानका केन्द्रीय अध्यक्ष बुद्धिलाल सोरेन सन्थालले बताउनु भयो । साेरेनका अनुसार सन्थाल जातिमा अझै पनि कुसंस्कार तथा जाँडरक्सिका कारण युवा पुस्ताहरू विग्रँदै गएकाे बताउनु भयाे । यसका लागि सवै सन्थाल सचेत भएर लाग्नु पर्ने बताउनु भयाे ।

गाैरीगंज बजार क्षेत्रमा सन्थाल जातिकाे सामुहिक नृत्य

सन्थास जातिको छुटै बाजा र नृत्य उनीहरुको छुट्टै पहिचान हो । खास गरी दशैंको वेला यी नाचहरु मेला तथा जातिय पर्वहरुमा नाचिन्छ । सन्थाल जातिको लिपी अर्थात ओल्चिकी समेत रहेको छ । तर लिपी मात्र नभएर उनीहरुको भेषभूषा देखि भाषा समेत लोप बन्दै गएकाले यसको संरक्षणमा चासो दिनु पर्ने सन्थाल समूदायका अगुवा महिलाहरुले बताएका छन् ।
पिता पूर्खासँग प्रसस्त जग्गा जमिन भएको भए पछि अहिले धेरै जसो सुकुम्बासी अवस्थामा छन् । जग्गा जमिन आफ्नो स्वामित्वमा नभएकाले खोला नदिको किनारामा बसोवास गर्नु पर्ने अवस्था आएको गौरीगंज गाउँपालिका वडा नं. १ का सन्थाल जातिका अगुवा बब्लु मुर्मुले बताउनु भयो ।

गाैरीगंज गाउँपालिका वडा नं. १ हाेकलबारीमा रहेकाे सन्थाल बस्ती ।


आर्थिक, सामाजिक र राजनैतिकरुपमा पिछाडिएका सन्थाल जातिको २०७८ सालको जनगणनामा ५७ हजार ३ सय १० जनसंख्या रहेको छ । १२ वटा थर रहेको सन्थाल जातिले धेरै जसो अझै पनि ज्याला मजदुरीकै भरमा गुजारा चलाउँदै आएका छन् । पिछाडिएका लोपोन्मुख सन्थाल जातिको विकासका लागि सरकारले विशेष ध्यान दिनु पर्ने उनीहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *