२ असार २०८२/डिकेश लामा
उर्लाबारी नगरपालिका वडा नं. ७ की नगरमाया खनालले ३ सय रुपयाँको धागो बुन्ने काँटा र केही धागाे खरिद गरेर शुरु गर्नु भएको व्यवसायको लगानी अहिले २५ लाख भन्दा धेरैको छ । अहिले उहाँले धागोबाट मात्र नभएर त्यतिकै खेर जाने मकैको खोस्टाबाट आकार्षक व्याज, टोपी, घर सजावटका सामान उत्पादन गर्न थाल्नु भएको छ । उहाँले अहिले अाफूमात्र नभइ अन्य केहीलाइ राेजगार समेत दिन सफल हुनु भएकाे छ । उहाँले बनाएकाे खाेस्टाकाे व्याज काेशी प्रदेश देखि नेपालका मुख्य शहर नेपालगंज, हेटाैडा, काठमाण्डाैं, विराटनगर लगायत अन्य जिल्लामा समेत माग हुने गरेकाे छ । खाेसेलाकाे ब्याजकाे माग पुर्याउनै मुश्किल भएकाे उद्याेग संचालनमा मुख्य संचालक खगेन्द्र दंगालले बताउनु भयाे ।
त्यसो त मेहनेत गर्ने महिलालाई सरकारले समेत सहयोग गरेको छ । कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय तथा स्थानीय सरकारबाट उहाँले केही बर्ष यता अनुदानमा मेशिन लगायत अन्य सहयोगहरु प्राप्त गर्दै आउनु भएको छ । हस्तकलाबाट उत्पादन गरेको सामान देशका विभिन्न जिल्लामा मात्र नभएर तेस्रो मुलुकमा पनि जाने गरेको छ ।
नरमाया आफू मात्रै शीपबाट स्वावलम्वी बन्नु भएको छैन । उहाँले पूर्वको झापा देखि अन्य धेरै जिल्लामा पुगेर तालिम समेत दिन थाल्नु भएको छ । तालिम लिएका महिलाहरु समेत पछिल्लो समय त्यतिकै खेर जाने खोस्टा, पराल लगायत अन्य स्थानीय कृषि बस्तुहरुको प्रयोगबाट विभिन्न प्रकारका सामानहरु उत्पादन गरेर विक्री गर्न सफल बन्न थालेका छन् । उर्लाबारी नगरपालिकाले महिलाहरूले उत्पादन गरेकाे ढाकाकाे कपडाहरू विक्री गर्न काेशेली घर नै स्थापना भएकाे छ । झण्डै एक सय जना महिलाहरूले घर घरमा हातले बुनेका ढाकाका व्याग, टाेपी, साडी लगायत अन्य परिकार काेशेली घरमा संकलन गरेर देश तथा विदेशमा विक्री गर्दै अाउनु भएकाे काेशेली घरकी सदस्य तथा महिला उद्यमी सरस्वती रिजालले बताउनु भयाे ।
महिलाहरुले पछिल्लो समय हस्तकलाको प्रयोग गरेर ढाकाका पहिरन, साँस्कृतिक भेषभूषा, श्रृङगारिक सामान तथा घरायती सजावटका सामानहरु उत्पादन गर्दै आएका हुन् । स्थानीय स्तरमा पाइने कृषि बस्तुको प्रयोग गरी बनाइएका यस्ता सामाग्रीले महिलाहरुको आर्थिक समृद्धिसँगै पर्यावरणको संरक्षणमा समेत टेवा पुग्ने उनीहरुको भनाइ छ ।
