जैविक विविधता संरक्षणमा टेवा पुर्याउने खेती जुट लोप हुँदै
११ भदौ २०८२/डिकेश लामापाटा अर्थात जुटको मुल्य यो बर्ष बृद्धि भए पनि झापामा खेती भने बर्षेनी घट्दै गएको छ । जनशक्तिको अभाव र उत्पादन लागत अनुसारको मुल्य नपाउँदा किसानले खेती छाड्दै गएको बताएका छन् ।
केही महिना अघिसम्म जुट अर्थात सुनपाटको मुल्य प्रति मन झापाका बजारमा ५ हजार रुपयाँसम्म पुग्यो । अहिले पनि बजारमा ४ हजार देखि ४ हजार २ सयसम्म किनबेच भइरहेको छ । जिल्लामा उत्पादन घट्दै गए पछि हालसम्मकै उच्च मुल्य आएको किसानले बताएका छन् ।
कुनै वेला दक्षिणी झापाका जमिनमा जुट खेतीले ढाक्ने गथ्र्यो । तर पछिल्लो समय जुट खेती घट्दै गए पछि लोप हुने अवस्थामा पुग्न थालेको छ । स्थिर बजार र किसानको लगानी नउठ्ने हुँदा खेतीमा समस्या आएको व्यवसायी समेत रहनु भएका गौरीगंज गाउँपालिकाका निवर्तमान अध्यक्ष बाबुराजा श्रेष्ठले बताउनु भयो । श्रेष्ठका अनुसार बजारमा यो बर्ष अहिलेसम्मकै उच्च मुल्य झण्डै ५ हजार रुपयाँसम्म मुल्य पुग्यो । तर खेती भने घटेर न्यून भएको छ । उचित बजार र सरकारले खेती तर्फ चासो नदिएकाले जुट खेती घट्दै गएको उहाँले बताउनु भयो ।
यस अघिका बर्षहरुमा कृषि फार्म तथा सहकारी मार्फत परिक्षण योजनाको रुपमा जुट प्रवर्धन कार्याक्रम समेत संचानलन नगरिएको भने हौइन । तर प्रयाप्त भने जस्तो खेती विस्तार हुन सकेन । धेरै उत्पादन हुन नसके पछि किसानले उत्पादन गरेको जुट स्थानीय बजारमै विक्री हुने गरेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताउनु भयो । विष्टका अनुसार अधिक मात्रमा जुट उद्योगहरुलाई चाहिने कच्चा पदार्थ भारतमा निर्भर हुनु परेको छ ।कोशी प्रदेशमा झापा, मोरङ, सुनसरी र इलाममा जुट खेती हुने गर्दछ । कृषि विकास निर्देशनालय कोशी प्रदेशको आर्थिक बर्ष २०८०/८१ तथ्याङ्क अनुसार सवै भन्दा धेरै मोरङमा ५ हजार १ सय २५ हेक्टर, सुनसरीमा १ हजार ३ सय ८, झापामा ५ सय ५२ र इलाममा ८ हेक्टरमा जुट खेती हुने गरेको छ ।
झापाको मेची भन्सारबाट आर्थिक बर्ष २०८०/८१ मा ३ अर्व ४६ करोड मुल्यको जुट तथा जुटबाट बनेका सामान आयात भएको तथ्याङक छ । देशमै भएको उद्योगलाई चाहिने कच्चा पदार्थ जुट उत्पादन बर्षेनी घट्दै गए पछि ठूलो रकम बाहिर गइरहेको उद्योगीहरुको भनाइ छ ।

जुट खेती हराउँदै जान थाले पछि किसानले खेतीबारीमा बनाइएका पाटा डुबाउने साना पोखरी समेत मास्दै लगेका छन् । जसले गर्दा सिमसार क्षेत्रमा हुने जैविक विविधता समेत लोप हुँदै गएको जानकारहरुको भनाइ छ । जल सतह घट्दै जानुमा रिचार्ज पोखरीहरु मासिनु एउटा मुख्य कारण हो । किसानले पाटा अर्थात जुट धुनका लागि घर वरिपरी पोखरी निर्माण गर्ने गर्दथे तर खेती छाडेसंगै पोखरीहरु समेत मास्दै लागेका छन् । जसले गर्दा पानी रिचार्ज हुने प्रणालीमै असर पर्न गएको छ । गाउँघरका साना पोखरी मसिंदा जलचर जीव जन्तु तथा पन्छी समेत मासिंदै गएको छ । जलवायु परिवर्तनको असर बढ्दै गएको वेला यस्ता जैविक विविधता संरक्षणमा टेवा पुर्याउने खेतीको विकासमा सरकारले ध्यान दिनु पर्ने अगुवा किसानले बताएका छन् ।
