३ मंसिर २०८२/झापा
आन्दोलनमा लुटिएको हतियार बरामद गरिएको छ । भदौ २४ गते झापाको इलाका प्रहरी कार्यालय दमकमा तोडफोड र आगजनी गरी हतियार लुट्नेलाई प्रक्राउ गरी लिएको बयानको आधारमा पाँचथर जिल्लाको मिक्लाजुङ गाउँपालिका वडा नं. ३ आरुवोटेबाट २ थान बन्दुक सहित ४ थान गोली बुधबार फेला पारिएको छ ।
हतियार लुटपाटमा संलग्न २२ बर्षीय शुशिल फियाक लिम्बुलाई पक्राउ गरी सोधपुछ गर्दा हतियार राखेको स्थान खुले पछि दमकबाट खटिएको टोलीले हतियार प्रहरी कार्यालयमा ल्याएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हालसम्म इलाका प्रहरी कार्यालय दमकले ४७ वटा हरियार फिर्ता ल्याइसकेको छ । दमकबाट हराइएका मध्ये अझै १७ वटा हतियार फिर्ता हुन बाँकी रहेको छ । आगजनी, तोडफोड र लुटपाटमा संलग्नमा १३ जनालाई पक्राउ गरी कानुनी कार्वाही थालेको प्रहरी कार्यालयले जनाएको छ ।
