५ साउन २०७८,धनगढी – पानी निकासकाे विषयमा धनगढी उपमहानगरपालिकाकाे वडा नं. ३ मा प्रहरी र स्थानीयबीच झडप भएकाे छ । आज साँझ उपमहानगर वडा नं. ३ काे हाटबजार विद्युत सब स्टेशनलगायतका क्षेत्रमा जमेको पानी निकास गर्न खोज्दा स्थानीय र प्रहरीबीच झडप भएको हाे । हाट बजार र विद्युत कार्यालयको सब स्टेशन जलमग्न भएपछि मोहनापुल–अत्तरिया ६ लेन सडकमा निर्माण गरिएको कल्भर्ट खोलेर पानी निकास गर्ने क्रममा वडा नम्बर २ का स्थानीयले प्रहरीलाई अवरोध गरेका थिए ।
उनीहरुले कल्भर्ट खोल्दा वडा नम्बर २ को बस्ती ढुवानमा पर्ने भन्दै अवरोध गरेका हुन् । स्थानीयको ढुंगा प्रहारबाट १२ जना प्रहरी घाइते भएको र तनाव अझै कायम रहेको एसपी अधिकारीले बताउनु भयाे । केही स्थानीयहरू समेत घाइते भएकाे हुन सक्ने शंका गरिएकाे छ ।
