१५ श्रावण २०७८, झापा– बिर्तामोड नगरपालिकामा शुक्रबार हाेटलमा कोरोनाविरुद्धको खोप भेटिएकाे विषयमा छानबिन गर्न समिति बनाउन प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले निर्देशन दिनु भएकाे छ ।
नागरिकले खोप नपाइरहेको अवस्थामा कोरोनाविरुद्धको २ सय डोज खोप होटलमा किन लगियाे भन्ने विषयमा सत्यतथ्य सार्वजनिक गर्ने गरी छानबिन समिति बनाउन भनेको प्रजिअ तिमिल्सिनाले जानकारी दिनु भयाे । ्र

विर्तामाेड नगरपालिकामा खाेप लगाउन दिनभर घाममा मानिसहरू लाइन लाग्दै गर्दा खाेपकाे अभाव देखाउँदै हाेटलमा खाेप पुर्याउने कार्यमा केही शंका रहेकाे बताइएकाे छ । ‘होटलमा खोप फेला पर्नु गम्भीर गल्ती हो । होटलमा कुन प्रयोजनका लागि खोप लगिएको हो, सत्यतथ्य छानबिन हुन जरुरी छ’ तिमिल्सिनाले भन्नु भयाे,‘छानबिन समितिले सबै कुराको अध्ययन गरेर छानबिन प्रतिवेदन सार्वजनिक गरोस् । यदि कसैले गल्ती गरेको पुष्टी भए दोषी देखिएकाहरुलाई कारबाही हुन्छ ।’

१२ गतेदेखि सञ्चालन भएको खोप कार्यक्रमका लागि झापामा ६२ हजारभन्दा बढी डोज खोप प्राप्त भएको छ । तर कतिपय पालिकाले खाेप कार्याक्रम तालिका अघि नै खाेप सकिएकाले खाेप कार्यक्रम राेकिएकाे सूचना जारी गरेकाे छ । झापाकाे अर्जुनधारा र दमक नगरपालिकाले ताेकिएकाे तालिका पूर्व नै खाेप सकिएकाे सूचना जारी गरिसकेकाे छ । यता पालाे पर्खिएका नागरिकले तत्काल खाेप दिलाउन र हाेटल, हाेटल खाेप लाने र जवरजस्ती खाेप उठाउने जनप्रतिनिधिलाइ समेत कार्वाही गर्न माग गरेका छन् ।
