खाेप लुकाएकाे विषयमा तालाबन्दीः दाेषाीलाई तत्काल कार्वाही गर्न विभिन्न संगठनकाे माग
छानविनका लागि ५ सदस्यीय समिति गठन
१६ श्रावण २०७८, झापा – नगरपालिकामा हुनुपर्ने कोरोनाविरुद्धको भेरोसेल खोप होटेलमा फेला परेको विरोधमा विद्यार्थी संगठनले शनिबार झापाको बिर्तामोड नगरपालिकामा तालाबन्दी गरेका छन् । बिर्तामोड नगरपालिकाले खोपमा अनियमितता गरेको आरोप लगाउँदै विद्यार्थीहरुले शनिबार बिहान ११ बजे नगरपालिका कार्यालयमा तालाबन्दी गरेका हुन् । विद्यार्थीले खोप होटलमा लुकाएर अनियमितता गर्न खोज्ने नगरपालिकाका कोभिड फोकल पर्सन ओम खड्का, मेयर ध्रुवकुमार सिवाकोटी, स्वास्थ्य शाखा प्रमुख तुलसी पोखरेलसहित संलग्न सबैलाई कारबाही र बर्खास्तीको माग गरेका छन् । उनीहरुले दिनभर लाइनमा बसेका व्यक्तिलाई ‘खोप छैन’ भनेर फर्काइएको तर, २ सय डोज खोप होटलमा लुकाएर राखेको घटनाको उच्चस्तरीय छानबिन हुनुपर्ने माग गरेका छन् । विद्यार्थीहरुले बिर्तामोड नगरपालिकाले कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिहरुको प्रत्येक दिनको विवरण सार्वजनिक गर्नुपर्ने मागसमेत गरेका छन् । नगरपालिकामा नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारी जिल्ला कमिटीका विद्यार्थीले तालाबन्दी गरेका हुन् ।
यसैबीच यता बिर्तामोड नगरपालिकाका कोभिड फोकल पर्सन खड्कासहित कोरोनाविरुद्धको खोप काण्डमा संलग्नलाई कारबाही गर्न बिर्तामोड उद्योग वाणिज्य संघले समेत माग गरेको छ । वाणिज्य संघले खोप काण्डको सत्यतथ्य उजागर गर्न तथा दोषीलाई कारबाही गर्न सशक्त खबरदारीमा उत्रिने चेतावनी दिएको छ । संघले घटनामा संलग्न सबैलाई कारबाही गर्न स्थानीय, प्रदेश र केन्द्रसहित तीनै तहका सरकार समक्ष माग गरेको हो । संघले शनिबार पत्रकार सम्मेलन गरी बिर्तामोडको खोप काण्ड जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख समेतको संलग्नमा भएको दाबी गरेको छ । संघले विभिन्न बहानामा होटलमा खोप लुकाईछिपाई राख्नु गम्भीर घटना भएको पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा उल्लेख छ ।
यसैबीच खाेेप काण्डकाे विषयलाइ लिएर जिल्ला प्रशासन कार्यालय झापाले अाज उच्च स्तरी बैठक बसेकाे छ । वैठकले घटनाबारे सत्य तथ्य छानविनका लागि सहायक प्रमुख जिल्ला अधिकारी तिलाेचन रिमालकाे संयाेजकत्वमा ५ सदस्यीय समिति गठन गरिएकाे जिल्ला प्रशासन कार्यालय झापाले जानकारी दिएकाे छ ।