पत्रकार प्राेफायल तयार गर्न अन्तकृयाः कस्ताे भयाे काेभिडकाे कहर?
२१ अशोज २०७८/डिकेश लामा
लामो कोरोना कहरले संचार माध्यम र पत्रकारहरुमा परेको प्रभावबारे जानकारी लिई सोही अनुसारका कार्याक्रम तय गर्न धनकुटाको भेडेटारमा आज एक अन्तकृया कार्याक्रम गरिएको छ । झापा, मोरङ्ग, सुनसरी र धनकुटा गरी ४ जिल्लाका पत्रकार महासंघ, संचार संस्थाका प्रतिनिधि, अगुवाबीच संचार माध्यमको तथ्याङ्क संकलन र प्रोफाइल निर्माण सम्बन्धी अन्तकृया गरिएको प्रादेशिक संचार प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञ शर्माले जानकारी दिनु भयो ।
प्रदेश नम्बर एकको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचीव कार्याक्रमका प्रमुख अतिथि कालिप्रसाद पराजुलीले संचारको जिम्मेवारी पनि यसै मन्त्रालयको भएकाले पत्रकार र संचार माध्यमको विकासमा सकरात्मक र गुणात्मक कार्याक्रम संचालनमा सहयोग गर्ने बताउनु भयो । उहाँले नकरात्मक समाचार मात्र नभई सकरात्मक समाचारको प्रभावले पनि समाज परिवर्तनमा टेवा पुग्ने बताउनु भयो ।
कार्याक्रममा धनकुटा जिल्लाका अग्रज पत्रकार जनविश्वास साप्ताहिकमा संस्थापक सम्पादकलाई जटिल प्रकृतिका रोग भएका कारण उपचारमा सहयोग पुग्ने ध्येयले ५० हजार नगदको चेक प्रतिष्ठानले प्रदान गरेको छ । यस्तै मुटु, मृगौला लगायतका जटिल प्रकृतिको रोग लागेका झापाकी माया पकुवाल र मोरङ्गका कमल पौडेललाई समेत रकम दिने प्रतिष्ठानले निर्णय गरेको छ ।
यस अघि कोरोना संक्रमति पत्रकारको उपचारमा ९ जनालाई २५ हजार र मृत्यु भएका ३ जना पत्रकारका परिवारलाइ ५० हजारका दरले राहत सहयोग गरेको प्रतिष्ठानका सदस्य गोपाल काफ्लेले बताउनु भयो । कार्यक्रममा रिसर्च कसरी गर्दा प्रभावकारी हुन्छ भन्ने विषयमा प्रतिष्ठानका सदस्य महेन्द्र विष्ट, प्रतिष्ठानका उदेश्य र भावी कार्याक्रमबारे कार्यकारी निर्देशक शर्माले कार्यपत्र प्रस्तुत गर्नु भयो ।
प्रस्तुत कार्यपत्रबारे तथ्याङक संकलन र प्रोफायल निर्माणमा पत्रकार महासंघ मोरङ्गका अध्यक्ष सन्जीव खनाल र झापाका सचीव डिकेश लामाले समूहका प्रतिनिधित्व गर्दै सुझाव राखेका छन् ।
यस्तै कार्याक्रममा नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य सरिता बराइली, प्रदेश समिति उपाध्यक्ष हिमा चेम्जोङ्ग, सक्रीय महिला पत्रकार समूह सुनसरीका उपाध्यक्ष सुभद्रा प्याकुरेल, उदघोष दैनिक मोहन भण्डारी, पीवी दियाली, श्यामकुमार सुतिहार, लगायतले सुझाव सहितका मन्तव्य राख्नु भएको छ ।