सर्वाेच्च अदालतमा मुद्दा सुनवाइ भएनः साढे २८ हजार मुद्दा सुनवाइकाे प्रतिक्षामा
१४ कार्तिक २०७८,काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मुद्दाको सुनुवाइका लागि आज इजलास तोकेपनि सुनुवाइ भने हुन नसकेकाे बताइएकाे छ । प्रधानन्यायाधीश राणाको एकल इजलासमा मात्र सुनुवाइ भयो ।
सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार प्रधानन्यायाधीशले मुद्दाको सुनुवाइका लागि पेसी तोकेपनि प्रधानन्यायाधीशको एकल इजलासमा मात्र सुनुवाइ भएको बताउनुभयो । गत आइतबार मध्याह्नदेखि प्रधानन्यायाधीशमाथि प्रश्न उठाउँदै न्यायाधीशहरु इजलासमा उपस्थित हुनुभएको छैन ।
प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानुनले प्रधानन्यायाधीशका रुपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफू सक्षम रहेको बताउँदै न्यायाधीशहरुलाई पनि संविधान र कानुनबमोजिम आ–आफ्नो जिम्मेवारी पूरा गर्न आग्रहसमेत गर्नुभएको छ ।
अदालतमा बेञ्च बस्न नसक्दा मुद्दाको सुनुवाइ हुन सकेको छैन । यसका कारण टाढाबाट आएका सेवाग्राहीहरु पनि मर्कामा परेका छन् । सर्वोच्च अदालतका अनुसार त्यहाँ फैसलाको प्रतीक्षामा रहेका मुद्दाको सङ्ख्या २८ हजार ६२६ रहेकाे छ। एक दशकअघि नौ हजारको हाराहारीमा रहेको विचाराधीन मुद्दाको सङ्ख्या करिब पाँच वर्ष न्यायाधीशको सङ्ख्या निकै कममा खुम्चिएपछि २० हजार पुगेको थियो। मुद्दाको सङ्ख्या घटाउने दबावमा रहेको सर्वोच्चमा प्रधानन्यायाधीश राजीनामा नदिने अडानमै छन्। असुन्तुष्ट न्यायधिसकाे अडानले चुलिएकाे विवादले न्यायलयकै नैतिकतामा प्रश्न उठ्न सक्ने अवस्था अाउने सामाजिक अगुवाहरूकाे भनाइ छ ।