१५ पौष २०७८/पर्वत तामाङ
संघीयता कार्यान्वयनसँगै पूर्वी नेपालका गुरुङ्ग समूदायहरु आफ्नो पहिचान जोगाउन एकजुट हुन थालेका छन् । हरेक बर्ष आउने नयाँ बर्ष ल्होसारलाई व्यापक र साँस्कृतिक विकासका रुपमा सामुहिकीकरण गर्न थालिएको छ । विगत केही बर्ष देखि समूहमा ल्होसार अर्थात गुरुङ्ग जातिले मनाउने नयाँ बर्षलाई हरेक बर्ष बढाउँदै लान थालिएको छ । कोरोना कहरले २ बर्ष प्रभावित बनेको ल्होसार यस बर्ष भने धुमधामसँग मनाइएको छ ।

झापा जिल्लामा अधिकाशं गुरुङ्ग समूदायले यस बर्षको ल्होसार पर्व शिवसताक्षी नगरपालिका वडा नं. १० मा रहेको टाँसी छोलिङ्ग बौद्ध गुम्बामा भेला भएर सामुहिकरुपमा मनाएका छन् । देशमा संघीयता आएसँगै यूवा पुस्ताहरु समेत सँस्कृति संरक्षणमा लाग्न थालेको गुम्बाका अध्यक्ष धनबहादुर गुरुङ्गले बताउनु भयो । गुरुङ्गका अनुसार एकात्मक राज्य व्यवस्था हुँद देशमा लुकेर संस्कार सँस्कृतिको कुरा गर्नु पथ्र्यो । खुलेर आफ्नो जातिको संस्कार सँस्कृति मनाउन पाइदैनथ्यो । तर २०४६ सालको जन आन्दोलन पछि देशमा संस्कार सँस्कृतिको विकासमा खुकुलो हुँदै गयो । अझ देशमा गणतन्त्र आएर धर्मनिरेपक्षता घोषणा भए पछि धेरै जातजातिले आफ्नो पहिचानको संरक्षण र विकासमा समूहमा काम गर्न थालेको बताउनु भयो ।

पहिले पहिले घरमा सिमित ल्होसार कार्याक्रम विस्तारै सामुहिक रुपमा मनाउन थालिएको छ । २६०६ औं तमु ल्होसारमा जिल्लाका विभिन्न भागमा सामुहिकरुपमा मनाउने मात्र नभई सँस्कृति, भाषा, भेष भूषा संरक्षणमा समेत विकास हुन थालेको छोँधी तमु महिला राष्ट्रिय संघ प्रदेश नम्बर एककी संयोजक कार्यक्रमका प्रमुख अतिथि खिलमाया गुरुङ्गले बताउनु भयो । पछिल्लो समय महिलाहरु समेत आमासमूह खोलेर आफुनो भाषा र सँस्कृति सिक्ने सिकाउने गर्न थालेको उहाँले बताउनु भयो ।

पूर्वका गुरुङ्गहरुले धेरैले आफ्नो भाषा विर्सदैं गएका छन् । तर पछिल्लो समय भाषा, धर्म र सँस्कृति संरक्षणमा समेत गुरुङ्ग समूदायले सिक्न थालेको समूदायका कन्काइ नगरपालिका वडा नं. ३ का गुरुङ्ग जातिका अगुवा देउमान गुरुङ्गले बताउनु भयो । यस्तै समूहमा भेला भएर गरिने सँस्कृतिको विकासमा यस बर्ष गाई बर्षलाई विदा गरेर बाघ बर्षलाई स्वागत गर्ने अवसरमा पश्चिम झापामा धेरै गुरुङ्गहरुको उपस्थितिमा पूजाआजा सहित नाचगान समेत गरिएको छ । यस्तै कार्याक्रममा गुरुङ्ग जातिको साँस्कृतिक खेल छेलो, लठ्ठा तानी समेतको आयोजना गरिएको छ ।

२०६८ सालको जनगणना अनुसार नेपालमा ५ लाख २२ हजार ६ सय ४१ जनसंख्या रहेको गुरुङ्ग जातिको आफ्नै भाषा र धर्म रहेको छ । भाषा र सँस्कृति भूल्दै गएका पूर्वी नेपालका गुरुङ्ग जातिले पछिल्लो समय सिक्ने, सिकाउने र समूहमा भेला हुने कार्यलाई जोड दिन थालेकाले आफ्नो पहिचान संरक्षणमा टेवा पुगेको उनीहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *